समाज

केन्द्रीय कारागारमा कैदीको मृत्यु: दिउँसो श्रीमतीसँग गफिए, राति अस्ताए

सवारी दुर्घटना मुद्दामा केन्द्रीय कारागार काठमाडौंमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिको मृत्यु भएको छ। काभ्रेको पाँचखाल नगरपालिका–१ का लालबहादुर तामाङको सोमबार राति मृत्यु भएको हो ।

उनी झन्डै दुई वर्षदेखि थुनामा थिए। २०७९ फागुन २७ गते ओखलढुङ्गाबाट काठमाडौँ आइरहेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । सो घटनामा ६ जनाको ज्यान गएको थियो । 

सिन्धुली बस दुर्घटना: ६ जनाको मृत्यु, ३० जना घाइते | Nagarik News

लालबहादुर त्यहीँ बसका चालक हुन्। उनैले चलाएका बेला त्यो दुर्घटना भएको थियो । त्यहीँ दुर्घटनाको मुद्दामा जिल्ला अदालत सिन्धुलीले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। 

परिवार स्रोतका अनुसार बस मालिकले समयमै मृतकलाई क्षतिपूर्ति नदिलाइदिँदा मुद्दाको अन्तिम सुनुवाइमा ढिलाइ हुँदै आएको थियो । 

उक्त दुर्घटनामा चालक लालबहादुर पनि घाइते भएका थिए । उनको टाउकामा सिसा रहेको स्रोतले बतायो । जसको उनी उपचार गरिरहेका छन् । दुर्घटनाको केही समय उनी सिन्धुली कारागारमै थुनामा थिए। 

उपचारका लागि भन्दै अदालतको अनुमति लिएर उनी पछिल्लो ८÷९ महिनायता केन्द्रीय कारागारमा जेल सरुवा भएर आएका थिए । लालबहादुरका छिमेकी शेखर बजगाईँका अनुसार सोमबार दिउँसो लालबहादुर सामान्य थिए । 

लालबहादुरलाई भेट्न श्रीमती विनीता तामाङले तीन बजे कारागार पुगेकी थिइन् । करिब एक घण्टा उनी श्रीमतीसँग गफिएका थिए ।  उनले श्रीमतीसँग ‘आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको’ र ‘जेलमा पनि केही नराम्रो नरहेको, आनन्द छ’ भनेका थिए ।  

त्यसपछि राति ३ बजे अकस्मात् जेलबाट उनको मृत्युको खबर परिवारसम्म पुग्यो। दिउँसो सामान्य अवस्थामा भेटिएका लालबहादुरको मृत्युबारे आफन्तले शङ्का गरिरहेका छन् । 

यता केन्द्रीय कारागार प्रशासनले भने लालबहादुरको मृत्यु हृदयाघातका कारण भएको बताएको छ । कारागार प्रशासनका अनुसार उनलाई राति १२ बजे हृदयाघात भएको थियो । लगत्तै ड्युटीमा रहेको टोलीले उनलाई कारागारभित्रै रहेको अस्पतालमा लगेको थियो ।  तर, उनको ज्यान भने जोगाउन नसकिएको केन्द्रीय कारागारका प्रमुख कृष्णबहादुर कटुवालले बताए । 

‘उहाँलाई त्यहाँ रहेको टोलीले समयमै लगेर उपचार गराउन कोसिस गरेको हो । बचाउन सकिएन,’ उनले भने। परिवारमा देखिएको शङ्का वा असन्तुष्टि सामान्य नै रहेको उनी बताउँछन् । 

‘परिवारलाई दुःख लाग्नु स्वाभाविक हो । तर, यहाँ हाम्रो केही कमजोरी छैन । हामीले उहाँको बस्ने,सुत्ने, खाने सबै कुरा देखाइदियौँ । उहाँले गरेको शङ्का अब दूर भएको हुनुपर्छ,’ उनले भने, ‘यसै गरी हामीकहाँ दिनहुँ वा तीन चार दिनमा कोही न कोहीको मृत्यु भइराख्छ । चार हजार मान्छे  भएको ठाउँ हो ।’ 

लालबहादुरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ । 

प्रकाशित: १ माघ २०८१ १७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App