समाज

गाईघाट बजार भित्रको सडक स्तरोन्नति हुँदै

कृषि बजार–विसनपुर खण्डमा निर्माणाधीन नाला । तस्विरः महेश्वर

सदरमुकामको मुख्य बजार गाईघाट लगायत आसपासका सडकहरू फराकिला र व्यवस्थित नालासहित सिँगारिँदै छन् । विश्व बैँक (डब्लुबी)को लगभग १ अर्ब ऋण सहयोगमा गाईघाट रहेको त्रियुगा ११ सहित आसपासका ४ वडा स्तरोन्नतिसहितको कालोपत्रे सडकले सिँगारिने क्रम सुरु भएको हो ।

डब्लुबीको सहयोगमा नगरपालिकाका १०, ११, १२ र १३ नं. वडामा पूर्वाधार निर्माणतर्फ सडकहरू स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । नगरप्रमुख बसन्त बस्नेतका अनुसार सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम (यूजीआईआईपी)’अन्तर्गत ४ वडामा विभिन्न ९ वटा फरक फरक भौतिक पूर्वाधार संरचना निर्माण भइरहेका छन् ।

‘बोटेक बस्फरस टेक्निकल कन्सल्टिङ कर्पोरेसन’ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार काम भइरहेको छ । ५ दशकअघि तत्कालीन जिल्ला पञ्चायतले गरेको टाउन प्लानिङभित्रका सडकहरूलाई व्यवस्थित नालासँगै फराकिलो र स्तरोन्नतिसहित कालोपत्रे गरिने डब्लुबीको योजना छ । गत वर्ष चैत ३० गते नै सम्झौता भए पनि असार अन्तिममा शिलान्यास भएर साउनदेखि काम सुरु भएको हो ।

नगरपालिकाले २ वटा अलग–अलग ठेक्कामार्फत काम गरिरहेको जनाएको छ । गाईघाट बजारको टाउन प्लानिङका सडकसँग जोडिएका शिवालय टोल, बोक्से, करमगाछी जाने सडकको काम एउटा प्याकेजमा र गाईघाटकै हवाईफिल्डस्थित सगरमाथा कृषि बजारसँग जोडिएर पुरानो गाईघाट, विसनपुर हुँदै असारीतर्फका अन्य सडकको काम अर्को ठेक्कामार्फत भइरहेको छ । 

नगरपालिका सहरी विकास शाखा प्रमुख इन्जिनियर निर्मल विश्वास चौधरीले बजारसँग अन्तरसम्बन्धित सडकहरूको ठेक्का ४५ करोडमा लागेको बताए । त्यसैगरी बजारबाहेक कृषि बजारदेखि असारीतर्फका लागि २० करोड बढीको अर्को ठेक्का सञ्चालित छ । दुवै ठेक्का आशिष–आशिर्वाद–स्वामीनारायण जेवीले लिएको छ । हालसम्म २७ प्रतिशत भौतिक प्रगति भइरहेको इन्जिनियर चौधरीले बताएका छन् ।

वर्ल्ड बैँकको यो सहयोगबाट निर्माणाधीन योजना पुरा भएपछि गाईघाटको विकासमा स्वरूप नै परिवर्तन गर्ने अपेक्षा लिइएको छ । हाल सबैतिरको नाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नाला सकिए लगत्तै सडक स्तरोन्नतिको काम थालिहाल्ने इन्जिनियर चौधरीले बताए । जनसङ्ख्या र भूगोल दुवैतर्फ जिल्लाको सबभन्दा ठूलो स्थानीय तह रहेको त्रियुगा नगरपालिका ११ को गाईघाट र आसपास १०, १२ र १३ नं. वडाहरू जोडिएका छन् । सदरमुकाम र जिल्लाकै मुख्य व्यापारिक तथा प्रशासनिक नाका भएकाले पनि गाईघाटलाई सुन्दर र नमुना सहर बनाउन योजना अन्तर्गत नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलका अनुसार टाउन प्लानिङ क्षेत्रका सडक सञ्जाललाई जोड्ने गरी लिङ्करोड निर्माण गर्न यो योजना सञ्चालन गरिएको हो । जस अनुसार मध्ये गाईघाटदेखि बोक्से जोडिएको सिटीहल–बोक्से, पिपलचोक–शिवालय टोल–सिमलटार, बाबारानी–डिएम गेट, पिजी चोक–फुलचोक–बोटेटोल हुँदै त्रियुगा करिडोर, शिवालय टोल–करमगाछी सडकहरू कलोपत्रे हुनेछन् ।

अर्को प्याकेजमा हवाई फिल्डको कृषि बजारसँग जोडिएको प्रगतीटोल–साकेलाटोल, जनप्रेमीटोल– बिसनपुर–असारी जोड्ने सडकसँग त्रियुगा कोरिडोरलाई जोड्ने खण्डहरु कालोपत्रे हुने डिपिआरले तोकेको छ । तत्कालीन नगरप्रमुख बलदेव चौधरीले यो योजनाका लागि वल्र्डबैंकसँग आग्रह गरे अनुसार सहरी विकास मन्त्रालयमार्फत आएको वल्र्डबैँकका प्राविधिकले डिपिआर गर्दा ३ अर्ब हाराहारी लाग्ने प्रारम्भिक निचोड निकालेको थियो । तर, सम्झौतासम्म आइपुग्दा १ अब केही करोडमा खुम्चिएको र ठेक्का आव्हान गर्दा विलो (कम मूल्य)मा परेपछि ६५ लाखमा सम्झौता हुन पुगेको हाकिम सिग्देलले बताए ।

पुरानो सदरमुकाम उदयपुर गडीबाट ०२८÷२९ सालमा प्रशासनिक केन्द्रको रुपमा स्थापना भएको गाईघाटमा तत्कालीन जिल्ला पञ्चायतले गरेको टाउन प्लानिङ निकै साँघुरो र सानो क्षेत्र भएकाले आवादी बाक्लिँदै जाँदा स्तरोन्नति गर्नुपर्ने अवस्था आएको हो । समय क्रममा थुप्रै संरचना निर्माण गरे पनि दिगो र व्यवस्थित सहर बनाउन सडक स्तरोन्नति गर्नै पर्ने आवश्यकता आएको हो । 

प्रकाशित: २६ पुस २०८१ १८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App