समाज

सार्वजनिक लेखा समिति सभापतिको बचाउमा एमाले-कांग्रेस सांसदहरु

नेकपा एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोईराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले सभापतिको श्रीमतीले न्यायिक निरूपणलाई सहयोग गर्न अदालतमा जानुपर्ने धारणा राखे।

उनले सभापतिसँग सम्बन्धित प्रश्नको उत्तर समितिले दिन नसक्ने भए पनि अदालतमा स्पष्टता आवश्यक रहेको बताए। साथै, सभापतिको श्रीमती एक सहकारीसँग जोडिएको भए पनि यो मुद्दामा अदालत जाने विश्वास व्यक्त गरे।

सांसद भट्टराईले पछिल्लो समय मुद्दा लाग्ने बित्तिकै कतिपयले बाहिर हल्ला गर्दै हिँड्ने परिपाटीलाई आलोचना गर्दै एमाले नेताहरूले यस्तो नगर्ने विश्वास दिलाए। उनले सभापतिले आफ्ना श्रीमतीसँग सम्बन्धित प्रश्नहरूमा स्पष्टिकरण दिन आग्रह गर्दै सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो परिवारलाई लुकाएर राख्न नहुने धारणा व्यक्त गरे।

सांसद भट्टराईले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा बनेको समितिले सुशासन र चेक एन्ड ब्यालेन्सको प्रत्याभूति गर्नुपर्छ। सभापतिप्रति उठेका प्रश्नहरूको जवाफ दिन उहाँले तत्परता देखाउनु पर्छ। सभापतिको श्रीमती अदालतमा उपस्थित हुनुपर्छ, यो आवश्यक छ। एमालेका सदस्यहरूले यस विषयमा हल्ला र कराउनु हुँदैन।’

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले गरेको गल्तीले श्रीमान्‌लाई फसाउने सम्भावनाबारे चिन्ता व्यक्त गरे। उले सभापति पोखरेलको बचाउ गर्दै सभापतिको पक्राउ आदेश नभएको तर श्रीमतीको भएको विषयलाई फरक रुपमा हेरिनु पर्ने बताए।

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सभापतिलाई व्यक्तिगत रूपमा आरोप लगाउनु उचित नभएको बताए। उनले अदालतबाट आरोप पुष्टि नभएसम्म सभापतिलाई दोषारोपण गर्नु जायज नहुने बताए।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभापति चयन राजनीतिक सहमतिअन्तर्गत भएको हुँदा बारम्बार प्रश्न उठाउनु उचित नभएको बताए।

सभापति ऋषिकेश पोखरेलले आफ्नो विषयमा कानूनी प्रक्रियामा भएका मुद्दामा सहयोग गर्न तयार रहेको बताए। उनले दलहरूबीच भएको सहमतिलाई स्वीकार गर्दै आफ्नो भूमिकामा इमानदारिता देखाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ८ पुस २०८१ १८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App