भुक्तपुरमा सोमबार बिहान कान्छो छोरोसहित मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्यका जेठो छोरोको खोजी भइरहेको प्रहरीले जनाएको छ।
खोटाङबाट गत पुस २ गते काठमाडौं आएका जिल्ला हुलाक कार्यालय दिक्तेलका निमित्त प्रमुख समेत रहेका नायब सुब्बा आचार्य बाल्कोटमा रहेको छोराहरुको डेरामा बस्दै आएका थिए ।
कुलप्रसादसँगै उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेपनि जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । उक्त घरमा दाजुभाइ मिलन र प्रविन बस्दै आएका थिए ।
सोही घरमा बस्ने अन्यले आइतबार पनि उनीहरु बस्ने कोठाको ताल्चा नखुलेको बताएपछि प्रहरीले हत्या शनिबार नै भएको हुनसक्ने बताएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले २ वटा कोठा डेरा लिएकोमा बाबु र कान्छा छोरा छुट्टाछुट्टै कोठामा मृत फेला पर्नु, दुवै कोठामा ताल्चा लगाउनु र दुवैको शरिरमा चोटपटक देखिनुले हत्या नै भएको आशंकामा अनुसन्धान सुरु गरेको बताए । डीएसपी नेउपानेले जेठो छोरो मिलन सम्पर्कमा आएपछि घटनाबारे थप जानकारी बाहिर आउने बताए ।
बाबुछोराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको जानकारी दिँदै उनले तालिमप्राप्त कुकुरसहित घटनाको अनुसन्धान भइरहेको बताए ।
कुलप्रसादका दुई छोरा र दुई छोरी हुन् । जेठी छोरी नायव सुब्बा छन् भने कान्छी अस्ट्रेलियामा बस्छिन् ।
प्रकाशित: ८ पुस २०८१ १५:३० सोमबार