समाज

अज्ञात समूहको आक्रमणमा परी घाइते सिंहलाई बलराको आर्थिक सहयोग

नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितलाई खुसियाली मनाउने क्रममा अपरिचित समूहको आक्रमणमा परेर घाइते भएका अमनकुमार सिंहलाई उपचारका लागि बलरा नगरपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सर्लाहीको बलरा नगरपालिका १० सुदामा निवासी काठमाडौँस्थित दरबार हाई स्कुलको कक्षा १२ मा अध्ययनरत अमनकुमार सिंहमाथि गत शनिबार सांघातिक आक्रमण भएको थियो।  

एनपिएलको फाइनल म्याच जनकपुर बोल्टसले जितेको खुसियाली मनाउने क्रममा अपरिचित समूहले गरेको आक्रमणमा परी सिंहको दुवै हात भाचिएको छ। गम्भीर घाइते भएका उनको उपचारका लागि बलरा नगरपालिकाको नगर प्रमुख रामाशंकरप्रसाद कुशवाहाले आर्थिक सहयोग गरेका हुन्।

एनपिएलमा नेपालको ८ वटा टिम रहेको भए पनि जनकपुर बोल्टसको जितलाई सहज रूपमा लिन र उदाउँदो खेलाडी अमनमाथि भएको सांघातिक हमलाले खेल, खेलाडी र खेल प्रेमीहरूलाई हतोत्साहित बनाएको मेयर कुशवाहाको आरोप छ। बलरा नगरपालिका यस घृणित घटनामा संलग्न दोषीलाई पहिचान गरेर कडाभन्दा कडा कारबाही गर्न गृह प्रशासनसँग माग गरेका छन्।

छात्र सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको मनोबल उच्च राख्न र उपचारमा सहयोग पुर्याउन बलरा नगरपालिकाबाट आर्थिक सहयोग दिएको नगरप्रमुख कुशवाहाले बताए। उनले अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार सजग हुनुपर्ने समेत सुझाव दिए।

प्रकाशित: ८ पुस २०८१ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App