इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियानअन्तर्गत चार हजार पाँच सय ५६ वटा सडक बत्ती जडान गरेको छ। उपमहानगरपालिकाले विभिन्न वडामा ६ महिनायता ती सडक बत्ती जडान गरेको हो।
‘उज्यालो इटहरी’ अभियानअन्तर्गत उपमहानगरका विभिन्न चोक तथा मुख्य सडकसँगै बिजुलीका पोलमा बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ। असारमा इटहरी– १ बाट सुरु भएको बत्ती जडान कार्य इटहरीको २० वटै वडामा पुगेको छ। स्वचालित सडक बत्ती जडान कार्य गरिएपछि इटहरीमा चोरीका घटनामा कमी आएको दाबी गरिएको छ। बजार क्षेत्रमा पर्याप्त सडक बत्ती व्यवस्था भएपछि उज्यालो हुँदा चोरीका घटनामा कमी आएको उपमहानगरको दाबी छ।
सडक बत्ती रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं निभ्ने प्रविधिमा आधारित रहेको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए। मुख्य राजमार्गहरूमा एक सय वाट र भित्री सडकमा ५० वाटका बत्ती जडान गरिएको उनले बताए।
इटहरीको जंगलआसपास हात्ती आतंकबाट हुने क्षति कम गर्न, सहरमा चोरी बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने हिसाबले पनि पोलैपिच्छे बत्ती जडान भएको उनको भनाइ छ। ५० वाटका चार हजार एक सय ७८ वटा र एक सय वाटका तीन सय ७८ वटा बत्ती जडान गरिएको उपमहानगरपालिकाको विद्युत् शाखा प्रमुख उमेश चौधरी बताउँछन्।
वडाबाट माग भएअनुसार बत्ती वितरण गरिएको चौधरीलेले बताए। चौधरीका अनुसार वडा १, २, ३, ४, ५ मा क्रमशः २४९, ३५०, २४५, ३०६ र २१९ वटा बत्ती जडान गरिएको छ। यसैगरी वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा क्रमशः ५०, २४९, २८०, २३०, १४५, १४३, १००, १६४, १२६ र ११३ वटा बत्ती जडान गरिएको छ। यसैगरी वडा नं. १६, १७, १८, १९ र २० मा क्रमशः २५०, २५०, १८२, २४३ र २६९ वटा बत्ती जडान गरिएको उपमहानगरको तथ्यांकमा उल्लेख छ।
विराटनगरको केडिया कन्स्ट्रक्सन हाउस नामक कम्पनीसँग एक करोड ३३ लाख रुपैयाँमा बत्ती खरिद गरेको उपमहानगरको तथ्याङ्कमा उल्लेख छ। बत्ती बिग्रिएका ठाउँमा जडान र मर्मतसमेत केडिया कन्स्ट्रक्सन कम्पनीले नै गर्दै आइरहेको चौधरीले बताए। यसरी जडान गरिएका बत्ती बिग्रिएमा दुई वर्षको वारेन्टी रहेको र वारेन्टीअनुसार खरिद गरिएको कम्पनीले बनाइदिने सहमति भएको उनको भनाइ छ।
खासगरी हिउँदको समयमा इटहरी वडा नं २, १९ र २० मा हात्तीले प्रभावित पारेको र उज्यालो नभएको गुनासो आएको थियो। दिउँसोको समयमा हात्तीको बथान चारकोसे झाडीमा गएर बस्ने र रात परेपछि बस्तीमा प्रवेश गरी घर भत्काउने र घरभित्र भण्डारण गरेर राखिएका अन्न खाने र मान्छेको ज्यानै लिने गरेपछि उपमहानगरले सडकमा बत्ती जडान कार्यलाई तीव्रता दिएको जनाएको छ।
इटहरीको तालतलैया, पानीपिया र शान्तिनगर क्षेत्रमा जङ्गली हात्तीको समूहले बस्तीमा वितण्डा मच्चाउन थालेपछि स्थानीयले टर्चलाइट व्यवस्था गरिदिन आग्रह गरेका थिए।
प्रकाशित: ५ पुस २०८१ ०९:५१ शुक्रबार