नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा योजना सुरु गरेको छ।
गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्ला तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बीमा गर्ने निर्णय गरेको हो।
पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार शिखर इन्स्योरेन्समार्फत बीमा गरिनेछ। जसको सम्पूर्ण खर्च महासंघले व्यहोर्नेछ। उनले भने, ‘कसैको पनि दुर्घटना नहोस् भन्ने हाम्रो कामना हो, तर आकस्मिक घटनामा राहत प्रदान गर्न यो बीमा योजना सुरु गरेका छौँ।’
बीमाको सुरुवात संस्थापक अध्यक्ष घनश्याम खड्का, निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश उपाध्यक्ष प्रकाश पौडेल, र पूर्व अध्यक्ष तारानाथ शर्माको बीमा गरी गरिएको छ। अन्य पत्रकारहरूको बीमा क्रमशः गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमले जानकारी दिए।
यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि दश लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिनेछ। बीमा योजनालाई दीर्घकालीन र व्यवस्थित बनाउन कार्यविधि तयार पारिनेछ।
पत्रकारिता पाठशालाको स्थापना
महासंघले म्याग्दीमा नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशाला स्थापना गर्ने घोषणा गरेको छ। आधारभूत र एडभान्स तालिम सञ्चालन गरी आगामी पुस्तालाई दक्ष बनाउने उद्देश्यसहित पाठशालाको अवधारणा अघि सारिएको हो।
महासंघले जिल्लामा देखिएका समस्याहरूलाई उजागर गर्न सार्वजनिक बहस सञ्चालन गर्ने र अलपत्र परेका विकास योजनामा खबरदारी गर्ने घोषणा गरेको छ। सेवा प्रवाहमा ढिलासुस्ती भएका क्षेत्रमा खबरदारी गर्दै जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्ने अध्यक्ष गौतमले बताए।
कार्यक्रममा निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
महासंघको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा अमृत बास्कुने र अमित विश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य, उपसचिव प्रताप बानियाँ र सन्दिप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यहरूमा कमल खत्री, राकेश शर्मा, र केन्द्रीय प्रतिनिधि परिषद् सदस्यमा विनोद धौलागिरी निर्विरोध निर्वाचित भएका छन्।
पत्रकारहरूको हकहितको संरक्षण र क्षमता अभिवृद्धिमा नयाँ कार्यसमिति क्रियाशील रहने प्रतिबद्धता जनाउँदै महासंघले आगामी दिनमा थप सिर्जनशील कार्यक्रम ल्याउने योजना बनाएको छ।
प्रकाशित: ३ पुस २०८१ १८:५४ बुधबार