समाज

लुम्बिनीमा ३३ औं शाक्यमोन्लम पूजा सकियो

बुद्ध जन्मस्थल लुम्बिनीमा भएको ३३ औं १० दिने शाक्यमोन्लम पूजा सकिएको छ। विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिब ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूले शाक्यमोन्लम पूजा गरेका हुन्।  

२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षपछि मंसिर २३ देखि शुरु भएको थियो। लुम्बिनी विकास कोषको पहलमा ४१ औं शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो। सो पूजामा प्राणी जगतको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो। हिमाली बौद्ध परम्परा अनुसार लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गरियो। प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकहरू समेत पूजामा आकर्षित भए।

भारतका ४१ औं शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सृजना भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए।  शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितिमा बुद्ध जन्मस्थलमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरु सहभागी भएर मोन्लम पूजा हुनु गौरव भएको उनले बताए।

लुम्बिनीबाट शुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष सहित स्थानीय प्रशासन, स्थानीय सरकार, होटेल व्यवसायी र आम नागरिकहरूले समेत साथ दिनुपर्नेमा उनले जोड दिए

यो पूजाले पर्यटकीय क्षेत्रलाई समेत चलायमान बनाएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले जानकारी दिए।  पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले ४१ औं शाक्य ट्रिछेन रिन्पोछेसँग आर्शिवाद लिन लुम्बिनी पुगेका थिए। 

प्रकाशित: ३ पुस २०८१ १७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App