समाज

पर्साबाट १०७ ग्राम सुनसहित युवक पक्राउ

पर्सा प्रहरीले अवैध रूपमा चोरी पैठारी गरिएको सुनसहित एक जनालाई पक्राउ गरेको छ।

१०७ ग्राम ८७ मिलिग्राम सुनसहित वीरगन्ज महानगरपालिका-१५ भेडियाहीका २८ वर्षीय जयप्रकाश कुमार सोनार पक्राउ परेका हुन्।

प्रहरी सोनारको साथबाट १३ लाख ८८ हजार ४३६ रुपैयाँसमेत बरामद गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालाले जानकारी दिए।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर–८ लिंकरोडस्थित सडक खण्डबाट सोनारलाई नियन्त्रणमा लिइएको हो। डिएसपी लम्सालका अनुसार अवैध रूपमा सुन ओसारपसार भइरहेकोबारे प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा पछ्याउँदै जाँदा सोनार फेला परेका थिए। 

‘शङ्कास्पद रूपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेका थियाैं। सवार सोनारको शरीर तलासी गर्दा उनले लगाएको कालो रङको जिन्स पेन्टको दाहिने खल्तीमा कागजमा बेरिएको सो सुन बरामद भएको हो।’ उनले भने। 

सोनारलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८१ १९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App