समाज

कार्यकारीको नियुक्ति रद्द

कालीकोटको खाँडचक्र नगरपालिकाले नियम मिचेर गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द भएको छ।

मेयर कमलबहादुर शाहीले प्रशासनतर्फका अधिकृत छैटौं तहका अविराज शाहीलाई कार्यपालिकाको एकल निर्णय गरी सातौं तहमा बढुवा भएको सिफारीस सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएर कार्यकारी नियुक्त गरेको विषयलाई लिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो।

मंसिर ७ गते नागरिक दैनिकमा उक्त विषयको समाचार प्रकाशन भएपछि चर्चामा आएको उक्त विषयलाई लिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर ११ गते आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द सम्बन्धमा खाँडाचक्र नगरपालिकालाई पत्र पठाएको हो।

मन्त्रालयले कार्तिक ३० गतेको निर्णयानुसार नगरपालिकामा कार्यरत अधिकृत सातौ अविराज शाही (क.सं.नं. २३५३७९) लाई प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएकोमा उक्त जिम्मेवारी आजैका मिति देखि लागू हुने गरी रद्द गरिएको व्यहोरा पत्रमा उल्लेख गरेको छ।

कर्णाली प्रदेशले स्थानीय ऐन कार्यान्वयन नगरेको अवस्थामा अधिकृत स्तर सातौं तहमा बढुवा हुनका लागि स्थानीय सेवा ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यताले निर्धारण गर्नु पर्नेमा अहिले नियमावली तयार नहुँदै अविराज शाहीलाई सातौं तहमा बढुवा तथा स्तरवृद्धि गरिएको थियो।

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयले स्थानीय तहले बढुवा, स्तरवृद्धि नगर्न कार्तिक ६ गते सबै स्थानीय तहमा पत्र समेत पठाएको छ।तर नगरपालिकाका मेयर शाहीले कार्यपालिकाको निर्णय गरेर सातौं तहमा बढुवा नभएकालाई आफुखुसी बढुवाको सिफरिस पत्र लेख्न लगाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका थिए।

निवर्तमान कार्यकारी प्रबलजंग शाहीले कार्तिक ३० गतेसम्मको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत आफू भएको तर नगरपालिकामा आफू नआएको मौका छोपेर अविराज शाहीले आफुखुसी कार्यकारीको लागि आफै सिफारीसमा हस्ताक्षर गरेर अधिकृत स्तर सातौंमा आफै बढुवाको सिफारिस गरी आफ्नो अधिकार समेत खोसिएको बताए। उनले कार्यपालिकाको निर्णयसमेत एकल गरेकाले आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द भएको बताएका छन्।

कानुन अनुसार अविराज शाही अधिकृतस्तर सातौं तहमा बढुवा नभएको खण्डमा बढुवा सिफारीस गर्ने अधिकारी वा नगरप्रमुखको गल्ती देखिने कानुनका जानकार बताउँछन्।अधिकृत छैटौं तहका अविराज शाहीको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द भएपछि आफुलाई केही थाहा नभएको र पत्रकारहरुले आफै थाहा पाउनुपर्ने बताए। उनले आफुलाई यस्तो विषयमा नसोध्न अनुरोध गरे। 

स्थानीय समाजसेवी हिक्मतजंग मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा प्रशासकीय अधिकृत नियुक्ति अवैधानिक ठहर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक काम नगर्नका साथै प्रशासकीय अधिकृत बाट बर्खास्त गरेको बताएका छन्। उनले कानुनको पालना सबैले गनुपर्ने बताएका छन्।

नगरपालिकाका कर्मचारी नै यो विषयमा विभाजित छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने यस्तो विषय गम्भीर भएको जनाएको छ।अहिले आर्थिक तथा प्रशासनिक जिम्मेवारी मात्र रद्द गरीएको जनाएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो।

प्रकाशित: १२ मंसिर २०८१ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App