समाज

वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपालीको मृत्यु

विदेशी भूमिबाट नेपाली श्रमिकले पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलायमान गराए पनि यसको सामाजिक पाटो त्यति उज्यालो छैन। विभिन्न मुलुकमा गएर काम गर्ने क्रममा ज्यान गुमाउने र अंगभंग तथा बिरामी हुनेको संख्या बढ्दो छ।  

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म चार सय ७७ जनाले ज्यान गुमाएका छन्। यो तथ्यांक बोर्डबाट मृतकका आफन्तले आर्थिक सहायता पाएको विवरणका आधारमा निकालिएको हो। वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग हुने र मृत्यु भएका व्यक्तिका हकवालाले आर्थिक सहायता पाउँछन्। यो सहायता पाउन श्रमिकले श्रम स्वीकृति लिएको हुनुपर्ने, श्रम स्वीकृति नवीकरण गरेको हुनुपर्ने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने कानुनी प्रक्रिया छ। रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्।

अवैध रूपमा बिदेसिएका र श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्यासमेत जोड्दा अझ भयावह अवस्था हुन्छ। तर यसको यकिन तथ्यांक सरकारसँग छैन।

गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको थियो।  

चालु आर्थिक वर्षमा मंसिरको दोस्रो साता नसकिँदै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या चार सय ७७ पुगेको छ। यसअवधिमा बिरामी तथा अंगभंग भएर नेपाल फर्किनेको संख्या १ सय ७४ छ। साउनदेखि मंसिर ११ गतेसम्मको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुने, बिरामी तथा अंगभंग भई फर्किनेको संख्या बढ्नुले वैदेशिक रोजगार अझै सुरक्षित नभएको संकेत गर्छ। वैदेशिक रोजगारीमा खाडीलगायतका मुलुकमा नेपाली जाने गरेका छन्। कामका लागि विदेशमा गएकामध्ये दैनिक सरदर तीन नेपालीको शव आउने गरेको बोर्डको तथ्यांक छ।  

सिप नसिकीकन बिदेसिने नेपाली कामदारको संख्या बढ्नुले पनि जोखिम बढाएको बोर्डका सूचना अधिकारी टीकाराम ढकाल बताउँछन्। ‘विदेश जाँदा नेपाली नागरिक नै सचेत हुन जरूरी छ,’ ढकालले भने, ‘तालिम र सिप केही नलिईकन विदेश जाने प्रवृत्तिका कारण पनि जोखिम बढेको हो। कानुनी प्रक्रिया पुरा गरेर कामका लागि विदेश जानेको तथ्यांक मात्रै हामीसँग हुन्छ। अवैध रूपमा विदेश गई मृत्यु र बिरामी तथा अंगभंग हुनेको संख्या हामीसँग हुँदैन।’

मानसिक तनावका कारण कतिपयले विदेशमै आत्महत्या गरेका छन्। कतिपय वातावरण नमिल्दा बिरामी हुने र कतिपय सोचेजस्तो नहुँदा ‘डिप्रेसन’मा जाँदा पनि जोखिम निम्तिने गरेको उनको तर्क छ। कामका लागि बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको बोर्डको तथ्यांक छ। खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौंलाको समस्या पनि बढी देखिएको जानकारी सूचना अधिकारी ढकालले दिए। ‘दुर्घटनालगायत अन्य कारणले भन्दा पनि सुतिरहेको अवस्थामा मृत्यु हुने कामदारको संख्या बढी छ। सम्बन्धित मुलुकको अस्पतालमा पोस्टमार्टम गर्दा पनि मृत्युको खासै कारण खुल्दैन,’ उनले भने।

उनका अनुसार बिचौलियाको प्रभाव र व्यक्तिगत तवरले जोखिमपूर्ण मानिएका देशहरूमा तेस्रो मुलुक हुँदै जाने प्रवृत्तिले यस्तो समस्या बढाएको हो। आफूले गर्ने कामबारे तालिम तथा सिप लिएर र मौसम तथा अन्य जोखिमबारे राम्ररी बुझेर मात्रै विदेश जान उनी सुझाउँछन्।  

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएकामध्ये दक्ष कामदार ५ लाख ३२ हजार १२३ जना र अदक्ष एक लाख ४५ हजार ५ सय ४७ जना छन्। संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानका लागि १११ वटा देश खुला गरिएको छ। व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान भने १७८ मुलुक खुला गरिएको छ।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार गर्मी ठाउँ, भवनबाहिरको काम र धुलोले पनि विभिन्न रोग लाग्ने गरेको छ। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको उप्रेतीले बताए। विदेशमा सुतिरहेकै अवस्थामा मृत्यु भएका कामदारको पोस्टमार्टम रिपोर्ट पनि कसैको प्राकृतिक कारण र कसैको हृदयाघातले भएको खुल्न आएको उनी बताउँछन्।

मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने गरेको छ। विशेषगरी खाडी मुलुकमा जाने नेपालीले बढी सास्ती खेप्नुपरेको बोर्डका अधिकृतहरू बताउँछन्।

बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए।

बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा हकवालालाई सात लाख रूपैयाँ दिने गरेकोमा गत कात्तिक ९ गतेबाट १० लाख रूपैयाँ दिन थालेको छ। यस्तो सहायता वैदेशिक रोजगारीमा जानेक्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट प्रदान गरिन्छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले दुई वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृति लिँदा तीन हजार रूपैयाँभन्दा बढी अनिवार्य रूपमा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।  

बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर ११ गतेसम्म १४ हजार १४४ जनाको मृत्यु भएको देखिएको छ।

प्रकाशित: १२ मंसिर २०८१ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App