समाज

विमानस्थल मर्मतमा संसदीय समिति ‘सन्तुष्ट’

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले १० घण्टासम्म उडान बन्द गरे पनि आपत्ति नजनाउने भएको छ। विमानस्थल १० घण्टासम्म बन्द गर्दा यात्रुले विमानको टिकटको मूल्य बढी तिर्नुपरेको गुनासो आएपछि समितिले १० घण्टा उडान बन्द गर्ने कार्य रोक्ने उद्देश्यले अनुगमन गरेको थियो।

सोमबार समिति सभापति राजकिशोर यादवको नेतृत्वमा गएको संसदीय समितिको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा निर्माणाधीन अवस्थाको अनुगमन गर्नुका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग जानकारी लियो।

विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेललगायत क्षेत्रमा काम गरिरहेको छ। यस विषयमा संसदीय समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण प्रमुखसँग जानकारी लिएको हो।

गत कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको छ। निर्माणका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको छ। दैनिक १० घण्टा बन्द गर्दा पाँच महिना अवधिसम्ममा काम सकिने प्राधिकरणले जनाएको छ।

विमानस्थल १० घण्टा बन्द हुँदा यात्रुलाई विमान टिकट महँगो तिर्न बाध्य भएकोप्रति समितिले प्राधिकरणसँग ध्यानाकर्षण गरेको थियो। सभापति यादव, सांसदहरू उदयशमशेर जबरा, भीम आचार्य, दामोदर वैरागीलगायतले टिकटको रकम घटाउनुपर्ने बताएका थिए। तर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने विमानस्थल बन्द नहुँदा ४८ वटा र बन्द हुँदा ४४ वटा विमान ल्यान्ड भइरहेको र भैरहवामा अहिले केही ल्यान्ड गर्ने गरिएकाले त्यो जोड्दा ४८ वटाकै संख्यामा ल्यान्ड भइरहेकाले यात्रुलाई कुनै असर नपरेको बताए।

विमानस्थल बन्द भएको बहानामा ट्राभल एजेन्सीले टिकट दुई घण्टा होल्ड गर्ने र महँगोमा टिकट बेचेकाले यस्तो समस्या आएको उनले बताए। यसलाई नियमन र नियन्त्रण गर्न नसक्ने हो भने यात्रुले सधैं चर्को शुल्क तिरिरहनुपर्ने समस्या आउने उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डबमोजिम निर्माण गर्न लागिएको र पाँच महिनाभित्र काम सम्पन्न हुने गरी काम भइरहेको आयोजनाको कन्स्ट्रक्सन इन्चार्ज दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

वार्षिक डेढ करोड अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुलाई सेवा पु¥याउने लक्ष्यका साथ विमानस्थल गुरुयोजनाअनुसार धमाधम काम भइरहेको छ। विमानस्थल सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ७५ मिटर अवरोधमुक्त क्षेत्रमा काम भइरहेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डले विमान उडान÷अवतरण हुने क्षेत्रको ७५ मिटर दुरीभित्रको ठाउँ जसले विमानलाई रन वे मा पुग्दा र छोड्दा सुरक्षा गर्दछ। यसका लागि तीव्र गतिमा काम भइरहेको प्राधिकरणका अधिकारीले जानकारी दिए।

 विमानस्थलमा अहिले एक धावनमार्ग र समानान्तर आधा लम्बाइको ‘ट्याक्सी वे’ छ। सोही ट्याक्सी वेलाई जोड्ने पाँचवटा एक्जिट ट्याक्सी वे छन्। गुरुयोजनाअनुसार अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई भविष्यमा आन्तरिक टर्मिनल भवनमा परिणत गर्ने र अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि नयाँ भवन बनाइनेछ।

पहिलो प्याकेजमा उत्तर (बौद्ध)तर्फ अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी वे र एक्जिट ट्याक्सी वेहरू निर्माण भइरहेका छन्। अन्तर्राष्ट्रिय एप्रोनमा अब वाडइबडी मात्र १२ वटा र वाइडबडी र न्यारोबडी भने १८ वटासम्म विमान पार्किङ गर्न सकिन्छ। उत्तरतर्फको समानान्तर ट्याक्सी वे र दुईवटा कनेक्टिङ ट्याक्सी वे आयोजनाअन्तर्गत बनिरहेका छन्।

दोस्रो प्याकेजअन्तर्गत दक्षिण (कोटेश्वर) तर्फ समानान्तर ट्याक्सी वे बनिरहेको छ। यो आइकाओ मापदण्डअनुसार बनिरहेको कन्स्ट्रक्सन इन्चार्ज दिपेन्द्र श्रेष्ठले जानकारी दिए। धावनमार्गको केन्द्र रेखाबाट नयाँ समानान्तर ट्याक्सी वेको दुरी १७२.५ मिटर छ।

अहिले सबै विमान ट्याक्सी वेबाट धावनमार्ग प्रवेश गरेर ‘टेक अफ’ (उड्न) का लागि प्रस्थान गर्छन्। त्यसका लागि वाइडबडीका लागि ५ मिनेट र अन्यका लागि ३ मिनेट लाग्ने गरेको छ।  

नयाँ समानान्तर ट्याक्सी वे निर्माण भइसकेपछि सबै विमान समानान्तर ट्याक्सी वेमा लाइनमा रहन्छन्। ‘अहिले टेक अफका लागि लाग्ने गरेको समय जुन ३ देखि ५ मिनेट छ, त्यस समयमा अरू विमान टेक अफ र अवतरण ल्यान्ड गर्न सक्ने गरी क्षमता विस्तार हुन्छ,’ कन्स्ट्रक्सन इन्चार्ज श्रेष्ठले भने।

यसैगरी अर्को प्याकेजअन्तर्गत ह्यांगर एप्रोन र ट्याक्सी वे निर्माण हुँदै छ। भविष्यमा अन्तर्राष्ट्रिय टर्मिनल बन्ने स्थानमा अहिले अन्य संरचना छन्। जसमा नेपाल एयरलाइन्सर नेपाली सेनाको ह्यांगर छ। त्यसको ठ्याक्कै पारिपट्टि (पूर्वतर्फ) ह्यांगर र एप्रोन बनिरहेका छन् ।

नयाँ टर्मिनल भवन नबनेसम्म अहिलेको ट्याक्सी वे चलिरहन्छ। अहिले नयाँ एक हजार दुई सय मिटर समानान्तर ट्याक्सी वे निर्माण हुन्छ। उत्तरतर्फ पनि पाँच सय मिटर दुरीमा समानान्तर ट्याक्सी वे बन्छ। अहिलेको ट्याक्सी वेको काम जारी रहन्छ।

ती संरचना बनिसकेपछि अहिले नेपाल एयरलाइन्स र नेपाली सेनाका पूर्वाधार सोही स्थानमा सार्ने तयारी छ। त्यसपछि टर्मिनल भवनका लागि स्थान खाली हुनेछ। विमानस्थलभित्रको पूर्वाधार संवेदनशीलताका आधारमा विभिन्न क्षेत्रमा छुट्याइएको हुन्छ।

प्रकाशित: ११ मंसिर २०८१ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App