समाज

‘पहिले दिल्लीवाली भन्थे, अहिले पूजाजी भन्छन्’

पूजा महतो दुई सातायता निकै चर्चामा छिन्। पूजाको कप्तानीमा रहेको टिमले युएईलाई हराउँदै आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेपछि उनी एकाएक चर्चामा आएकी हुन्।

यो सफलतामा सबभन्दा ठुलो योगदान पनि पूजाले गरेकी हुन्। उनले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरिन्। महोत्तरीको गौशाला नगरपालिका–९ डुवरबनाकी १८ वर्षीया पूजा विपन्न परिवारमा जन्मेकी हुन्। तर उनको सफलताले अहिले उचाइ बनाएको छ। केही दिनयता उनलाई सम्मान ग्रहण गर्न भ्याइनभ्याइ छ। उनको घरमा उनलाई सम्मान गर्नेको भिड नै लाग्ने गरेको छ।

गरिबीका कारण पूजाका बुवा रञ्जित महतो नौ वर्षकै उमेरमा भारतको नयाँ दिल्ली मजदुरी गर्न पुगेका थिए। लामो समय दिल्लीमा मजदुरी गरेर उनी घर फर्के, बिहे गरे। केही समयपछि पूजाको जन्म भयो। पूजा १५ महिनाकी हुँदा रञ्जित सपरिवार मजदुरीका लागि दिल्ली पुगे। पूजा, उनकी बहिनी आरती र भाइले दिल्लीमै अध्ययन गरे। कक्षा १२ उत्तीर्ण पूजा नेपालमा प्रहरी वा सेना बन्न चाहन्थिन्। तर कोभिडले उनको भाग्य बदलिदियो।

दिल्लीमा कोभिडले ठुलो मानवीय क्षति पुर्‍यायो। लामो समय विद्यालय बन्द रह्यो। मानिसहरू घरबाट निस्किँदैनथे। त्यतिबेला उनका भाइले कोभिडबाट जोगिन क्रिकेट खेल्न सुरु गरे। पूजा भाइलाई सधैं क्रिकेट एकेडेमीसम्म पुर्‍याउने र ल्याउने गर्थिन्।

‘कोच सरले मेरो भाइलाई दिदीलाई पनि क्रिकेट खेल्न लगाउनू भन्नुभएछ। पछि मेरो बुवालाई पनि सोही कुरा भन्नुभयो। बुवाले पैसा तिर्न नसक्ने कुरा गर्नुभयो। सरले छोरीले राम्रो गरे पैसा तिर्नुपर्दैन भन्नुभयो। त्यसपछि बुवाले क्रिकेट खेल्न पठाउनुभयो,’ पूजाले विगत सम्झिँदै भनिन्, ‘क्रिकेट खेल्न सुरु गर्दा यति ठुलो सफलता प्राप्त गर्छु भन्ने विश्वास थिएन तर अहिले जुन सफलता पाएँ, एकदमै खुसी छु।’

‘क्रिकेट त खेल्छु तर केही गर्न सकिनँ भने के गर्नुहुन्छ ?’ भन्ने प्रश्न आमालाई सोध्ने गरेको बताउँदै पूजाले बताइन्। ‘केही गर्न सक्दैनौ भने स्वस्थ त रहन्छ्यौ भनेर आमा भन्नुहुन्थ्यो। आज जुन सफलता पाएँ, त्यसमा मेरी आमा पनि अत्यन्त खुसी हुनुहुन्छ,’ पूजाले भनिन्।

पूजा आफ्ना बुवालाई पथप्रदर्शक मान्छिन्। ‘बुवाले दिल्लीमा कठिन मेहनत (मजदुरी) गरेर हामीलाई पाल्नुभयो, पढाउनुभयो, क्रिकेटमा अगाडि बढाउनुभयो। म यहाँसम्म पुग्नुमा बुवाको ठुलो भूमिका छ,’ उनले भनिन्। बुवाले दिल्लीमा चियापसलमा काम गर्नेदेखि लिएर रिक्सासम्म चलाएको सुनाउँदा पूजाका आँखा रसाएका थिए। छेउमै उभिएका बुवा रञ्जितले पनि आफूलाई सम्हाल्न सकेका थिएनन्।

नेपाललाई विश्वकपमा पुर्‍याएपछि पूजाको परिचय फेरिएको हो। पहिले उनी घर आउँदा गाउँका छरछिमेकले ‘दिल्लीवाली आई’ भन्ने गर्थे। तर क्रिकेटमा सफलता प्राप्त गरेपछि गाउँघरका मानिसको नजरमा उनी ‘ठुली मान्छे’ भएकी छन्। पूजा भन्छिन्, ‘पहिले घर आउँदा दिल्लीवाली आई भन्नेले अहिले पूजा महतोजी भनेर सम्बोधन गर्नुहुन्छ।’

दिल्लीमै अध्ययन गरेकाले पूजा हिन्दी र अंग्रेजी मात्र बोल्छिन्। ‘तपाईंलाई नेपाली आउँदैन ?’ भन्ने जिज्ञासामा उनले भनिन्, ‘मजबुरीले दिल्ली पुर्‍यायो। त्यहीँ नै पढियो। हिन्दी र अंग्रेजी मात्र बोल्न जानें।’

ठट्यौलो पारामा उनले थपिन्, ‘अब कठिन मेहनत गर्छु। मलाई विश्वास छ, तपाईं अब अर्को पटक अन्तर्वार्ता लिन आउँदा मैथिली वा नेपालीमै बोल्नेछु।’ भाइको सहयोगले आफू आइसिसी यु–१९ महिला टोलीको कप्तान बनेको उनले सुनाइन्। ‘नेपाल आएका बेला मेरो भाइ यु–१६ मा छनोट भयो। एउटा खेलमा म्यान अफ द म्याच बन्यो। त्यसपछि उसलाई क्यानका उपाध्यक्ष रोशन सिंह सरलाई भेट्नुभयो।

मेरो भाइले दिदी पनि क्रिकेट खेल्नुहुन्छ भनेर सुनायो अनि सरले भिडियो पठाउन भन्नुभयो,’ उनले भनिन्, ‘दिल्लीबाट मैले क्रिकेट खेलेको भिडियो पठाएँ। त्यसपछि उहाँले मलाई बोलाउनुभयो। नेपाल आएपछि मेरो खेल देखेर एकैपटक टोलीमा समावेश गर्नुभयो।’

छोरी पूजाको सफलतामा बुवा रञ्जित दंग छन्। ‘मेरो चाहना थियो कि छोरीले नेपालको अन्डर–१९ खेलोस्, विश्वकपमा जाओस्। आज यस्तो सफलता प्राप्त गरिन्, म एकदमै खुसी छु,’ उनले भने। उनले आफ्नो घरकी जस्तो ‘पूजा’ हरेकका घरमा जन्मिनुपर्ने बताए। छोरीलाई सफल बनाउन आफूले धेरै संघर्ष गरेको रञ्जितले सुनाए।

‘आफू दिल्लीमा मजदुरी गर्दा आफन्तको बिहे वा अन्य काममा जान नपाएपछि सबैले भन्ने गर्थे– मेरोमा नआएपछि तिम्रोमा को जान्छ ? त्यो कुराले म जहिल्यै चिन्तित हुन्थें,’ उनले भने, ‘तर आज छोरीको सफलताले सबै चिन्ता भागेको छ। मैले राम्रै गरेछु भन्ने लागेको छ।’

प्रकाशित: ११ मंसिर २०८१ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App