समाज

कैलालीमा १७ वर्षीय किशोरको अपहरण गरी कुटपिट, खुकुरीसहित ३ पक्राउ

धनगढी उपमहानगरपालिका-४ तारानगरमा १७ वर्षीय योगेश धामी र अशोक खड्काको अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने तीनजना पक्राउ परेका छन्।

बझाङको केदारस्यु गाउँपालिका-६ घर भएका योगेश र मष्टा गाउँपालिका-६ का अशोक हाल धनगढीमा अध्ययन गर्दै आएका छन्। मंसिर ९ गते उनीहरूलाई उनीहरुकै कोठाबाट अपहरण गरी तारानगरस्थित एउटा खाली घरमा बन्धक बनाएर ५ ट्याब्लेट लागूऔषध खुवाई, खुकुरी देखाउँदै तीनजनाको समूहले कुटपिट गरेका थिए।

घटनाको उजुरी मंसिर १० गते वडा प्रहरी कार्यालय धनगढीमा परेपछि प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान थालेको थियो।

खोजतलासका क्रममा धनगढी उपमहानगरपालिका- १ सन्तोषी टोलस्थित कोठामा लुकेर बसेका १८ वर्षीय अमित नेगी, १८ वर्षीय विशाल भट्ट, र २४ वर्षीय भुपी खड्कालाई पक्राउ गरिएको छ।

पक्राउ परेका तीनै जनाको कोठाबाट एकथान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ। साथै, उनीहरूको मोबाइल चेकजाँच गर्दा कुटपिटको भिडियो फेला परेको छ।

घटनामा संलग्न तीनै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८१ १८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App