समाज

सशस्त्र प्रहरीमा दुई एआइजी र नेपाल प्रहरीमा तीन डिआइजी थप गर्ने कसरत

सरकारले सशस्त्र प्रहरीमा दुई प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) र नेपाल प्रहरीमा  तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरवन्दी थप गर्ने अन्तिम तयारी गरेको छ ।

 गृहमन्त्रालयले दुवै संगठनको दरवन्दी थप गर्न अर्थमन्त्रालयमा सहमतिका लागि प्रस्ताव पठाएको छ । सशस्त्रमा प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रशासनका लागि एआइजी दरवन्दी थप गर्न लागिएको हो भने प्रहरीमा लागुऔषध नियन्त्रण व्यूरो, ट्रािफक महाशाखा, त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डका लागि डिआइजीको दरवन्दी थप गर्न लागेको हो ।

 ‘दुवै संगठनबाट प्रस्ताव आइसकेको छ, गृहमन्त्रालयले  यसका लागि पहल गरिरहेको छ’, गृहमन्त्रालय स्रोतले भन्यो । स्रोतका अनुसार सशस्त्रमा एक एआइजीको दरवन्दी थप गर्ने पुरानो प्रस्ताव हो तर यसपटक अर्को पनि थप गर्ने पहल भैरहेको छ । सशस्त्रमा एक वर्ष अघि डिआइजीमा म्याद थप गरिएका र आगामी माघमा घर जान लागेका किशोर प्रधानलाई एआइजी बनाउने गरी दरवन्दी थप गर्न लागिएको हो ।

दरवन्दी थप गर्ने विषयमा प्रहरी प्रवक्ता दानबहादुर कार्कीले आफूलाई जानकारी नभएको बताए । ‘दरवन्दी थप गर्ने र घटाउने अधिकार सरकारसँग छ, यो विषय नेपाल प्रहरीको प्रवक्तालाई जानकारी हुँदैन’, प्रवक्ता कार्कीले भने ।  

नेपाल प्रहरीमा अहिले जनपदतर्फ २० र प्राविधिक ७ गरी २७ रहेकोमा जनपदतर्फ ३ दरवन्दी थप गरेर ३० पुर्याउन लागिएको हो । 

ट्राफिक, लागु औषध र विमानस्थल सुरक्षा गार्डका लागि ३ वटा दरबन्दी आवश्यक रहेको भन्दै प्रहरीमा ३ वटा दरबन्दी थप गर्न लागिएको हो । हाल ८ वटा पद रिक्त रहेकोमा ३ वटा थप गरेर ११ वटा पदमा बढुवा सिफारिस गर्न लागिएको छ । नेपाल प्रहरीमा यतिबेला रिक्त भएका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा रोकेर दरवन्दी थप गर्ने तर्फ लागिएको छ । डिआइजीमा बढुवा हुनेहरु चलखेल गर्न थालेपछि प्रहरी प्रधानकार्यालयले डिआइजीको दरवन्दी थप गर्न लागेको हो । प्रहरी प्रधानकार्यालयले प्राविधिकतर्फको दुई दरवन्दीपनि थप गर्न माग गरेको छ । तर अर्थमन्त्रालयले यसलाई अस्वीकार गरेको स्रोतले जनाएको छ ।  

गत असारदेखि नै नेपाल प्रहरीमा डीआईजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको थियो। हाल रिक्त डीआईजीको संख्या ८ पुगेको छ। असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डीआईजीमै अवकाश भएका थिए। उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए। यद्यपि उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्धा हालेका छन् । सो मुद्धा अहिले विचराधीन रहेको छ । गत साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डीआईजीको पद रिक्त भएको थियो । तर त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो । 

भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए । त्यसको एक महिनापछि असोज १४ गते डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डीआईजीको संख्या चार पुगेपनि बढुवालाई झन लम्ब्याइयो । कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डीआईजी रिक्त भएको थियो ।  किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ। उनीहरुको बढुवा निर्णय हुन बाँकी रहेको छ । यससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ८ पुग्नेछ ।  

रिक्त डीआईजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन् । प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डीआईजी बन्न लबिइङमा लागेका छन् । यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डीआईजी बढुवा सिफारिस हुने देखिएको छ।  आईजीपी कुँवरका ब्याची कार्यक्षमतामा कमजोर मानिएका ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन् । उनीहरू भर्नादेखि एसपीसम्म नै अगाडि थिए। त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डीआईजी बन्ने सूचीको प्राथमिकतामा छन्। डिआइजी दूर्गा सिंह चन्दलाई एआइजी बढुवामा पछि पारिएपछि उनका पति गणेश चन्दलाई बढुवा दिएर न्याय गर्ने बताइएको छ। उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए।कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुवर देखिएका छन्।  

यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डीआईजी बन्ने छन्।यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डीआईजी बन्ने करिब निश्चित छ। यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए।उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डीआईजीका बलिया दाबेदार हुन।  

शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डीआईजीका लागि प्रतिस्पर्धी हुन्।उनीहरू डीआईजी बन्न २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोलीलाई रोक्नुपर्छ। यो टोलीका दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी यसअघि डीआईजी भइसकेका छन्। त्यही व्याचकाले अहिले डिआइजीमा दावी गरिरहेका छन् । उनीहरूमध्येबाट पनि केही बढुवा हुने सम्भावना छ। यो टोलीबाट डीआईजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट रहेका छन्।  

अहिले एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीनजना यसअघि नै डीआईजी भइसकेका भने ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन्। एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएपछि अघिल्लो र पछिल्लो टोली मिलाउन सहज भएको छ। यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डीआईजीका दाबेदार हुन्। त्यसमध्येका देउवा, रेग्मी र दासचाहि निकै विवादित एसएसपी हुन्। देउवा, रेग्मी र दास कार्यक्षमता, चरित्र र स्वाभाव र आर्थिक मामिलामा निकै कमजोर एसएसपीहरु मानिन्छन्।

प्रकाशित: ५ मंसिर २०८१ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App