समाज

चन्दननाथ मन्दिरमा ४३ जोडीले गरे विवाह

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा अहिलेसम्म ४३ जोडीले विवाह गरेका छन्। मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट पहिचान खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको छ। चालू आर्थिक वर्षमा नयाँ तीन  जोडीले विवाह गरेका हुन्।

बढ्दो बालविवाहलाई रोक्न मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको थियो। पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका सुब्बा रत्नप्रसाद आचार्यले बताए।

२०७८ सालदेखि यो प्रावधान अघि सारिएको थियो। उनले भने, ‘मन्दिरमा सुटुक्क विवाह गर्न पाइन्छ। उमेरको सोधीखोजी हुँदैन भन्ने भ्रम छ। जसका कारण अधिकांश उमेर नपुगेका जोडी मन्दिरमा विवाह गर्न चाहन्छन्। यो भ्रम चिर्न अनिवार्य जन्मदर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको हो।’

अहिले उमेर पुगेका जोडी मात्र विवाह गर्न मन्दिरमा आउने गरेका छन्। मन्दिरमा कडाइ नहुँदा बालबालिका विवाह गर्न आउन सक्ने सम्भावना बढेको थियो। कसैले ललाइफकाइ गरेर विवाह गर्न ल्याउने पनि गरिएको देखिन्छ। कमै उमेरमा विवाह गरेर बालबालिकाको भविष्य नबिग्रियोस् भन्न मन्दिरमा पनि विवाह गर्दा अनिवार्य २० वर्ष नाघेको हुनुपर्ने व्यवस्था मिलाइएको हो।’

उमेर पुगेको जोडीले विवाह गर्न आउँदा कुनै समस्या भएन। तर, बालबालिका विवाह गर्दा कानुनी रूपमा अपराध नै हुने भएकोले अपराधजन्य क्रियाकलाप रोकथामका लागि गुठी समिति लागिपरेको हो।

बालबालिका मन्दिरमा विवाह गर्न आएपछि अनिवार्य रूपमा उनीहरूका अभिभावकलाई बोलाइन्छ। उनीहरूलाई उनीहरुको सबै कागजात ल्याउन लगाइन्छ। सबै हिसाबले बालबालिका ठहरिएको खण्डमा सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाइन्छ।

सुब्बा आचार्यका अनुसार कम उमेरमा विवाह गर्न चाहने जोडीलाई मन्दिर प्रवेशमा प्रतिबन्ध गरिएको छ। गुठिसमितिले सम्झाउँदा नमान्ने परिवारलाई नजिकैको प्रहरीको जिम्मा लगाउने गरिएको छ। मन्दिरभित्र गुठी समिति र प्रहरीले उनीहरूको हरेक कागजातको जाँच गर्छन्।

अहिलेसम्म उमेर नपुगेका दर्जनौं जोडीलाई अभिभावकको जिम्म लगाइएको सुब्बा आचार्यले जानकारी दिए।

‘उनीहरू बालविवाह गर्न आए। हरेक हिसाबले उमेर पुगेको देखिएन। उनीहरूको भविष्य डामाडोल हुने देखेपछि आआफ्नो घरमा अभिभावक बोलाएर फर्कायौं,ु आचार्यले थपे, ‘राम्रोसित पढ्नु, भविष्य बनाएर मात्र विवाहको तयारी गर्नु भनेर घर फर्कायौं। उनीहरू विवाह नगर्न मञ्जुर भएर घर फर्किए।’

मन्दिरभित्र सुरक्षाका लागि बसेका प्रहरीले बालविवाह गर्दा भोग्नुपर्ने कानुनी सजायबारे समेत सुझाउने गरेको हवल्दार होम बहादुर बस्नेत बताए। स्वास्थ्य, शिक्षा र भविष्य बिग्रने बारेमा सचेत गराउने गरेको उनले बताए। ‘मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बालविवाह गर्दा हुने कानुनी सजाय हुने दाबी गरे।कानुनी दायराले सानो ठुलो नभन्ने उनको तर्क थियो । उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ। साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजा सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ।

पहिले घरपरिवारलाई कुनै जानकारी नदिएर बालबालिका मात्र विवाह आउने गरेको देखिन्थ्यो। अहिले विवाह गर्दा अनिवार्य रसिद काट्ने गरिएको छ। रसिदमा उनीहरूको पारिवारिक विवरण राख्ने गरिएको छ।

५ सयदेखि दुई हजार पाँच सयसम्मको रसिद काट्ने गरिएको गठी समितिले जनाएको छ। नाजुक अवस्थाको जोडीलाई निःशुल्क विवाह गरिदिने गरिएको छ। सबै प्रक्रिया पुगेर आएको जोडीलाई विवाहको सामाग्री मन्दिरले उपलब्ध गरिदिन्छ। चालु आर्थिक वर्षदेखि हरेक जोडीको अभिलेखसमेत राख्ने गरिएको छ।

‘बालविवाह रोकौं, सभ्य नागरिकको परिचय दिऔ’ भन्ने मान्यता स्थापित गराउन थालिएको गुठिका अध्यक्ष अमरबहादुर थापाले बताए। विवाह गर्ने जोडीमाथि शंका लाग्नेबित्तिकै अभिभावक बोलाइन्छ। बालविवाह रोक्न मन्दिरबाट अभियान सुरु भइसकेको छ। यहाँ दलित परिवारका युवायुवतीको पनि विवाह गर्न थालिएको छ। मन्दिरको यो कदमले जुम्लामा बढ्दो बालविवाह न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ। गुठीले लिएको यो कदमको प्रसंसा भइरहेको छ।   

प्रकाशित: २६ कार्तिक २०८१ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App