समाज

फेरिँदैछ कपडाको कहानी

कैफियत

<br>

केही दिनअघि एउटा भव्य समारोहमा उपस्थित हुने मौका मिलेको थियो। जहाँ हरेक युवती आफ्नो शरीरमा आधा वस्त्र लगाएका नछोपिने र नढाकिने आधुनिक बनावटी पहिरनमा उपस्थित थिए। माहोल चकाचक थियो। क्यामरा–म्यान सुन्दर युवतीहरूको फोटो कैद गर्नमा व्यस्त थिए भने हातमा स्मार्ट फोन हुनेहरू पनि के कम, फोटो उतार्नमा व्यस्त र आतुर देखिन्थे।

आधुनिक पहिरन पहिरेका सबै युवतीलाई लाग्थ्यो, म मात्र राम्री छु, सबैभन्दा सुन्दर मै देखिइरहेकी छु, म सबैकी आकर्षण बनेकी छु, सबैले मलाई मात्र हेरिरहेका छन्। सायद यही सोचले होला, यताबाट उता, उताबाट यता भारी वस्त्रलाई दुई हातले समात्दै नाचिरहेका थिए युुवतीहरू।

युवतीहरूको शरीरमा वस्त्र त थिए तर लगाएका थिए कि थिएनन् भन्न चाहिँ गाह्रो थियो। मैले सोचेँ, यति महँगो कपडा शरीरमा जिउले धान्न नसक्ने भएर पनि अर्धनग्न किन देखिएका छन् युवतीहरू ? आधुनिकताको आडमा आफैंलाई नग्न पार्ने पहिरनहरू लगाएका थिए या सौन्दर्य प्रस्तुत गरिरहेका थिए, यो भन्न गाह्रो थियो।

यसैबीच एक युुवतीको छातीमाथि घाँटीतिरबाट वस्त्र फुसकियो। उनी हत्तपत्त एउटा कोठाभित्र छिरिन्। यो पहिलो घटना भने होइन। तिनकुनेमा बसबाट उत्रँदा एउटी महिलाको पछाडिको तुना चुँडियो। उनलाई निकै गाह्रो भएको थियो। हुन त अहिले यस्ता समस्याहरू धेरै नै दखिन्छन्। लाज छोप्न लगाएको पहिरनबाट लज्जित हुनुपर्ने यो अवस्था निकै नै आइरहेको छ।

सामान्य महिला होस् या सेलिबे्रटी, देखावटी र राम्रो बन्ने चाहमा धेरै युवती नग्न बन्नुपरेको छ। आकर्षणका लागि लगाएको पहिरनले धेरै सेलिबे्रटीदेखि आम सामान्य महिला दिदीबहिनीलाई नराम्री फसाएको छ।

केही दिनअघि दुई सेलिबे्रटीको पहिरनले सामाजिक सञ्जालमा निकै हङ्गामा मचायो। यो पनि कपडा हो भन्नेहरू धेरै थिए। समाजको प्रतिनिधित्व गर्ने पात्रहरूले पनि यस्ता कपडा लगाउन मिल्छ र ? के यो पनि कपडा हो ? कपडा लगाएकोबारे नकारात्मक टिप्पणी र कमेन्ट धेरै आइरहेका थिए।

कुनै अवार्ड कार्यक्रम होस् वा अरू कार्यक्रम, जाँदा आफूलाई अलग देखाउनु र अरूको ध्यान आफूतिर तान्नु सबैको सौख र रहर हुन्छ तर त्यो रहर कहिलेकाहीं निकै भारी परिदिन्छ आफैंलाई र लज्जाबोध पनि गराइदिन्छ।

वस्त्र त्यो अस्त्र हो जसले लाज छोप्छ, सौन्दर्य बढाउँछ, आत्मविश्वास जगाउँछ। पहिले कपडा शरीर छोप्न लगाइन्थ्यो। दमाईं दाइले सानो सिलाइ मेसिनको भरमा जिउ ढाक्ने कपडा बनाउनुहुन्थ्यो। त्यही कपडा शरीरको सुरक्षाको प्रतीक बन्थ्योे। अहिले वस्त्र फेसनका लागि लगाइन्छ। अहिले वस्त्रकै कारण जीवनशैली निकै जटिल र महँगो बन्दै छ। फेसन डिजाइनरहरूले नयाँ नयाँ सोच र टेक्नोलोजीअनुसार कपडा बनाउँदा पनि वस्त्र अधुरो बन्छ।

आकर्षक बन्नु सबैको चाहना हुन्छ। आकर्षणको नाममा आफूलाई नग्न पार्नु, फेसनको आडमा निर्वस्त्र बन्नु समाजका लागि हानिकार बन्दैछ। कुनै समय महिलाहरू स्नान गरेर अनि चौबन्दी चोलो र धोती बेरेर आफूलाई सुन्दर राख्थे। पटुकी बेर्थे, शरीरलाई हावाले पनि छुँदैनथ्यो, घामले पनि देख्दैनथ्यो।

विदेशमा बसेर आधा ज्यानलाई कपडा पहिराएर फोटोमा विदेशी बन्छन् नेपाली चेलीहरू र एक लाइक पाउनका लागि निवसर््त्र बन्छन्। परिवर्तन हुनुपर्छ, समयअनुसार चल्नु पनि पर्छ। आजभोलि काम गर्न सहज होस् भनेर सजिलो कपडा नै लगाइन्छ र लगाउनु जरुरी पनि छ तर सहजताको नाममा कार्यालय या कतै जाँदा हेर्ने मान्छेलाई नै अप्ठ्यारो हुनेगरी कपडा लगाउनु जायज होइन।

परिवर्तनका नाममा आडम्बरी बन्नु राम्रो होइन तर अहिले धेरै डिजाइनरले पनि कपडालाई बिगारेर बहुरूपी बनाइरहेका छन्। फेसनको आडमा कपडालाई नाङ्गो बनाइदिएका छन्। लगाउनेलाई पनि आधा शरीर मात्र ढाक्ने तरिकाले तयार पारिरहेका छन्।

हामी मयार्दामा चल्नुपर्‍यो। समाजले पनि यही भन्छ। हामी पचास रूपैयाँको जुत्ता लगाएर पाँच लाखको धाक लगाउने परम्परा बसेकैले दुुःख पाइरहेका छौं। घर घरको फेसन आज विकृतितिर ढल्किरहेको छ। यसैकारण धेरै आलोचित बन्नुपरेको छ। फेसनको आडमा नङ्ग्याउने र नाङ्गो हुने जुन जोडतोड र दौड भइरहेको छ, यसले समाजलाई खती नगर्ला भन्न सकिँदैन। अर्थात् फेसन समाजका लागि अभिशाप नबन्ला भन्ने छैन।

दुःशासनले राजसभामा द्रौपदीको वस्त्र उतार्न खोज्दा द्रौपदीले कृष्णलाई भनेकी थिइन्– ‘नारीको शरीरलाई हावाले पनि छुँदैन, घामले पनि देख्न पाउँदैन तर आज मेरो पूरा शरीर निर्वस्त्र हुँदैछ, कृष्ण मेरो लाज बचाऊ।’

नारीको पहिचान भनेकै अनुशासन हो। यसैले पहिले पहिलेका नारीहरू बिहानी झिसमिसेमा नै नुहाउँथे। स्नान गरेर अनि धोती बेरेर चौबन्दी चोलो लगाएर आफूलाई सुन्दर राख्थे, पटुकी बाँध्थे। उनीहरूको शरीरलाई हावाले पनि छुँदैनथ्यो, घामले पनि हेर्दैनथ्यो तर आज यो सम्भव छैन। समय धेरै अगाडि बढिसकेको छ। सजिलो र आकर्षक पहिरन सम्भव नभए पनि असजिलो नै देखिने गरेर नहिँडौं, आधुनिकताका आडमा निर्वस्त्र हुनु हुँदैन।

सेलिबे्रटीहरू पर्दाभित्र कुुर्ता सलवार लगाएर असल छोरीचेलीको भूमिका निर्वाह गर्छन् तर पर्दाबाहिर उनीहरूको हाउभाउ आडम्बरी देखिन्छ। एकचोटि अभिनेत्री रेखा थापालाई तपार्इं किन यत्तिको साधारण भएर हिँड्नुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘हामी सेलिबे्रटी हाैं। हाम्रो विचार, हाम्रो हाउभाउ दर्शक श्रोतालाई मन पर्नुपर्छ। मलाई सिम्पल नै मन पर्छ। तडकभडक पर्दाभित्र मात्र हो। हाम्रा फ्यानहरू पनि देखावटीभन्दा साधारण नै मन पराउँछन्।’

आज फेसनको दुनिया डरलाग्दो बनेको छ। यो कठिनाइ पनि बन्दै गएको छ। एकचोटि बसबाट ओर्लने क्रममा तीनकुनेमा स्कटको फित्ता फुस्किँदा ती केटीको हालत खराब भएको थियो। एक वृद्ध आमा त कराइन्, ‘जिउमा के नै कपडा थियो र ? त्यो पनि फुत्कियो।’ बिचसडकमा अर्धनाङ्गा कपडा लगाएर हिँड्न बन्देज नै लगाउनुपर्छ भनेर बसका वृद्धहरू कराउन थालेका थिए।

‘लामो कपडा लगायो भने पाखे भन्छन् रे, समयअनुसार चल्नुपर्छ भन्छन् छोरीहरू। उनीहरूले भनेको मान्नै पर्‍यो, के गर्नु’ धेरै अभिभावकको भनाइ हो यो। सामाजिक सञ्जालमा अहिले आफ्नै छोरीचेलीको नग्न तस्बिर हेर्न बाध्य भएको छ समाज। घरघरको फेसन आज विकृतितिर ढल्किँदैछ। फेसनको बहानामा नाङ्गिने जुन होड चलिरहेको छ, यसले समाज दुर्घटनातर्फ बढिरहेको छ। हुन त मान्छेको आफ्नो व्यक्तिगत रोजाइ हुन्छ, जे लगाउन मन लाग्छ, त्यही लगाउने हो। जे गर्न मन लाग्छ, त्यही गर्ने हो। अरूको टाउको दुखाइको कारण पनि नहोला। तर, कपडा कै कारण लज्जित हुन नपरोस्, बसमा कसैको भित्ता नतानियोस्, खुला बजारमा  बेइज्जत नहोस्।

मौसमअनुसार पहिरनले हरमानवमा नयाँ जोस उत्पन्न गराएको हुन्छ। सौन्दर्य र फेसनले शरीरलाई फुर्तिलो बनाउँछ, आत्मबल बढाउँछ। मान्छेको परिचय पोसाकले पनि झल्काउँछ तर पोसाकका नाममा आफै बदनाम हुने काम नगरौं।  

प्रकाशित: २४ कार्तिक २०८१ ०९:३४ शनिबार

#The story of clothes is changing # Mood