समाज

चितवनका भित्री सडकमा सवारी दुर्घटना धेरै

जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा धेरै दुर्घटना भएको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भित्रि सडकमा मात्रै १०७  दुर्घटना भएका छन्।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गत साउनदेखि भएका एक सय ८७ दुर्घटनामध्ये सो सङ्ख्यामा भित्री सडकमा दुर्घटना भएका हुन। दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। हालसम्म दुई सय ८८ सवारी साधन दुर्घटनामा परेकोमा एक सय ६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिए।

उनका अनुसार जिल्लाका भित्री सडकमा यसवर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ घाइते भएका छन्। आर्थिक वर्ष २०७८/८९ देखिको तथ्याङ्क हेर्दासमेत भित्रि सडक निकै जोखिमपूर्ण हुने गरेको छ।

सो समयदेखि हालसम्म भएका एक हजार चार सय ६४ दुर्घटना भएका छन्। जसमा भित्रि सडकमा ५० प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।

भित्रि सडकमा सात सय ४० वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परि एक सय ६५ जनाको ज्यान गएको छ। यस्तै एक हजार एकसय २९ जना घाइते भएका छन्।

शर्माका अनुसार चालु आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गमा ३५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन्।

यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा भएका २७ वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका छन्। सहरी सडक खण्डमा भएका १३ वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

यस्तै, पृथ्वी राजमार्गमा भएका पाँच वटा दुर्घटनामा नौ जना घाइते भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।

प्रमुख शर्माका अनुसार भित्रि सडकमा बिहानी हिँडाइ र रात्रिकालीन हिँडाइका क्रममा र मोटरसाइकल तीव्र गतिमा आउने हुँदा दुर्घटना बढी हुने गरेको हो।

सडक फराकिलो हुनु, तीव्र गतिमा सवारी चलाउनु, सवारीको चाप बढ्नु लगायतका कारण दुर्घटना बढी भएको उनले सुनाए। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तीव्र पारिएको शर्माले जनाए।

प्रमुख शर्माले भने “अन्य सडकको तुलनामा भित्रि सडकमा दुर्घटना बढी हुने गरेको छ। सबै क्षेत्रमा ट्राफिक प्रहरी पुगेको भए पनि दुर्घटना हुन नदिनका लागि सवारी चालक र यात्रुहरु सजग रहनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २३ कार्तिक २०८१ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App