समाज

जुम्लामा ‘स्केट पार्क’ संचालन, युवामा उत्साह

जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाउँका बर्दान महत हरेक दिन दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन्।

आफ्नो भविष्य स्केट खेलमै बनाउने लक्ष्यका साथ उनी दिनहुँ अपराह्न २ बजे युनिक स्केट पार्कमा अभ्यास गर्न पुग्छन्।

दुई वर्षअघि कोहलपुरमा साथीहरूले स्केट खेलिरहेको देखेर आफू पनि यस खेल प्रति आकर्षित भएको उनी सुनाउँछन्।

चन्दननाथ नगरपालिका–६ छिनागाउँकी सोनु रावल पनि स्केटप्रति रुचि बढेर दिनमा दुई घण्टा अभ्यासमा समय दिन थालेकी छन्।

उनीहरूमात्र होइन पछिल्लो समय स्कुल र क्याम्पसका विद्यार्थीहरूदेखि अन्य युवा पुस्तासम्म स्केट खेलमा आकर्षित हुँदै गएका छन्। फुटबल र भलिबल जस्तै अब स्केट पनि युवाहरूको चासोको केन्द्र बन्न पुगेको छ।

जुम्लामा पहिलोपटक युनिक स्केट पार्क सञ्चालनमा आएको हो। करिब २० लाख रुपैयाँको लगानीमा निर्माण भएको यस पार्कका सञ्चालक विराज भण्डारीले चन्दननाथ नगरपालिका–५ कालेखोलीमा यो सुविधा सञ्चालनमा ल्याएका हुन्।

२५ वर्षीय भण्डारीले युवालाई कुलतबाट जोगाउन, बालबालिकालाई मोबाइलको लतबाट हटाउन, मनोरञ्जन दिन र रोजगारीको अवसर सिर्जना गर्न स्केटिङको विशेष भूमिका रहने जनाए।

पार्कमा एक घण्टाको लागि एक सयदेखि एक सय पचास रुपैयाँ शुल्क तोकिएको छ। स्केटिङमा अहिले दैनिक दुई दर्जनभन्दा बढी बालबालिका र युवा सहभागी हुने गरेको भण्डारीले सुनाए।

स्केटिङ खेलका लागि पाँचदेखि १० हजार रुपैयाँका ३५ जोर जुत्ता ल्याइएको छ भने एकपटकमा १५ जनाले खेल्न सक्ने व्यवस्था गरिएको छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म स्केटिङ खुला राखिएको छ।

स्केट खेलमा युवाहरूको बढ्दो आकर्षणले यो खेल जुम्लामा लोकप्रिय बन्दै गएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ २२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App