समाज

बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण

समयमै रोपाइँ हुनु र बाली भित्र्याउँदा वर्षा नहुनुले बाँकेमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। अपेक्षाकृत रुपमा धान उत्पादन हुँदा यहाँका किसान उत्साहित भएका छन्।

यति बेला यहाँका किसान धान भित्र्याउने चटारोमा छन्। समयमै रोपाइँ सकेका किसान बाली भित्र्याउँदासम्म पनि पानी नपर्दा खुसी देखिएका छन्। सिँचाइ गर्दा पनि समयानुकूल वर्षा भएको थियो। जसले किसानलाई ठुलो राहत पुगेको थियो।

गत वर्षभन्दा यसपाली धान उत्पादन वृद्धि हुने नरैनापुर–५ जमुनाहका जलिल मनिहारले बताए। उनले १० कट्ठा जमिनमा बटैया (अधियाँ) लगाउँछन्। जसबाट सात/आठ क्विन्टल धान उत्पादन गर्छन्। २०७९ सालमा त झन् नरैनापुर सुख्खा हुँदा यति पनि धान उत्पादन भएन। तर, यसपाली भने उनी खुसी देखिन्छन्। भन्छन्, ‘यसपाली धान राम्रो छ। समयमै वर्षा हुँदा धान रोपाइँ पनि भयो। भित्र्याउँदासम्म पनि पानी आएको छैन। यो किसानका लागि राम्रो हो।’

नरैनापुर–४ का असफाख खाँ पनि उत्साहित छन्। ५० कट्ठामा धान लगाउने उनी यस वर्ष ५०/५५ क्विन्टल धान उत्पादन हुने आशामा छन्। यसपालि धानमा रोगको प्रकोपसमेत नहुँदा धान उत्पादन हुने उनी बताउँछन्। अघिल्लो दुई वर्षमा निराश भएका यस क्षेत्रका किसान यति बेला भने खुसी छन्। २०७९ मा नरैनापुरभरि १५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो भने ८५ प्रतिशतमा रोपाइँ हुन पाएको थिएन।

यति मात्र होइन बाँकेका अन्य पालिकामा पनि धान राम्रो देखिएको छ। केही किसानले धान भित्र्याइ सकेका छन् भने केही भित्र्याउने क्रममा छन्। धान राम्रो भएपछि किसानहरू उत्साहित देखिएका छन्।

यसपालिको मौसम पनि किसान अनुकूल भएकाले धान उत्पादन बढ्न सक्ने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिए। ‘किसानको खेतसम्म पुग्दा बाली राम्रो छ,’ उनले भने, ‘धान सबै भित्र्याउँदासम्म पानी परेन भने धान उत्पादन बढ्छ।’

यस वर्ष बाँकेमा ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको छ। प्रति हेक्टर कम्तीमा चार दशमलब तीन मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको उनको भनाइ छ।

प्रकाशित: १२ कार्तिक २०८१ १५:२६ सोमबार

#the farmer #Planting rice #Bake #Importing rice