समाज

विपिनकी बहिनीले भावुक हुँदै भनिन्ः यो तिहारमा पनि दाइलाई पर्खिरहेकी छु, सकशुल फर्काइदिनुस्

इजरायल–हमास युद्धमा बेपत्ता रहेका विपिन जोशीको रिहाईका लागि परिवारले फेरि आग्रह गरेको छ। कञ्चनपुर पुगेर बनाइएको भिडियो इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ। जसमा विपिनकी आमा र बहिनीले विपिनको सकुशल रिहाईका लागि आग्रह गरेका छन्।

विपिनकी बहिनी पुष्पा जोशी र आमा पद्मा जोशीले इजरायल सरकार र नेपाल सरकारसँग उनको सकुशल रिहाईका लागि आग्रह गरेका हुन्।

भावुक हुँदै बहीनी पुष्पाले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग एक वर्षदेखि दाईको प्रतिक्षामा रहेको र यसपटकको तिहारसमा टिका लगाउन पाइन्छ की भनेर उनलाई सकुशल घर फकाईदिन आग्रह गरिन्।

भावुक स्वरमा पुष्पाले भनिन्, ‘गत वर्ष नै दाइघर फर्किनुहुन्छ भनेर आशा दिलाएका इजरायल सरकार र नेपाल सरकारसँग फेरि पनि आग्रह गर्छु। दाईसहित अन्य बन्धक बनाइएकालाई सकुशल घर फर्काइदिनुस्। यो तिहारको टिकामा म बाटो हेरेर बस्ने छु।’

एक साता अघि काठमाडौँ आएका विपिनका परिवारले परराष्ट्र मन्त्रालयसँग पनि उनको रिहाइका लागि वा उनी कुन अवस्थामा छन् भन्ने बारे जानकारी दिनका लागि आग्रह गरेको विपिनका दाई किशोरचन्द्र जोशीले बताए।

उनले भने, ‘एक वर्ष बितिसक्यो। कुनै जवाफ छैन कसैसँग। न नेपाल सरकारले केही भनेको छ इजरायल सरकारले विपिनको अवस्थाबारे कुनै जानकारी दिएको छ। सकारात्मक सोच्नुस् मात्रै भन्नुहुन्छ।’

गत अक्टुबर ७ मा हमास र इजरायलबीच जारी युद्धको एक वर्ष पूरा भएको छ। तर, विपिनको अवस्था अझै अज्ञात नै हुँदा परिवार थप पीडामा छ।

इजरायलले हमासमाथिको आक्रमण जारी राख्दा दुबै पक्षबीच पछिल्लो समय वार्ताको सम्भावना देखिएको छैन। जसले गर्दा हमास नियन्त्रणमा रहेका भनिएका विपिनसहित अन्य इजरायली र विदेशी नागरिकको अवस्था अज्ञात रहेको छ।

प्रकाशित: ११ कार्तिक २०८१ १३:२९ आइतबार

#Bipin Joshi #pushpa joshi