समाज

पुल बनेपछि सडक सञ्जालसँग जोडियो तिला

जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकै पटक सडक सञ्जालसँग जोडिएका छन्। तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन्। 

घोडेसिम, तुही, पोखरी, घोडे, सुडी, रिपी, ढिपु, राँसा, मालापानी, जुम्लाकोट, पुरु, माथिल्लो खोप्री र तल्लो खोप्री गाउँ अब सडकले जोडिएका छन्। तिला गाउँपालिका अन्तर्गतका ६, ७, ८ र ९ नम्बर वडा निकै विकट मानिन्छन्। जहाँ अहिले पनि दैनिक उपभोग्य बस्तु ओसारपसार गर्न भारी बोक्नुपर्ने बाध्यता छ।

स्थानीयले उत्पादन गरेका कृषि उपजका बस्तुसमेत बजारसम्म ल्याउन कठिन छ। २०७४ को स्थानीय तहको निर्वाचनपछि त्यहाँका दुर्गम बस्तीहरूसम्म सडक पुगेको थियो। तर तिला नदीमा पुल नबन्दा सडक प्रयोगविहीन बनेका थिए। झोलुङ्गे पुलको बाटो हुँदै फाटफुट मोटरसाइकल चलिरहेका थिए। पुल नबन्दा निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको तिला–६ का वडाध्यक्ष जंग रोकायाले बताए। 

अहिले तिला नदीमाथि पुल बनेपछि सवारीसाधन ओहोरदोहोर गर्न सहज बनेको छ। उक्त क्षेत्रमा उत्पादित  रैथाने बाली आलु, सिमि, मकै, फापर, स्याउ, ओखर सहज रुपमा बजारीकरण हुने स्थानीय धनबहादुर बुढाले बताए। 

प्रकाशित: ७ कार्तिक २०८१ १७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App