समाज

रुपन्देहीमा पूर्वडिआइजी जोशीको बयान भइरहँदा सहकारी पीडितले गरे प्रदर्शन

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डिआइजी छबिलाल जोशी –बन्जाडे)लाई रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा आज (मंगलबार) बयान लिएको छ।

जोशीलाई सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरूले बयान लिइरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठोरले बताए।

यसअघि सुर्यदर्शन सहकारी पोखराको रकम अपचलन सम्बन्धमा कास्कीमा जोशीको बयान लिइएको थियो।

कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी जोशीलाई सोमबार हवाई मार्गबाट रुपन्देही ल्याइएको हो। सोमबार उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बसे।  सुप्रिम सहकारीको रकम अपचलनमा छविलालको संलग्नताका सम्बन्धमा थप अनुसन्धानका लागि बयान लिन उनलाई रुपन्देही ल्याइएको एसपी राठोरले बताए। बयान सकिए लगत्तै उनलाई पुन कास्की हिरासतमै पठाइने राठोरले जानकारी दिए। 

भैरहवामा सुप्रिम पीडितको प्रदर्शन

रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा सहकारीको रकम अपचलन सम्बन्धमा पूर्व डिआइजी छबिलाल जोशी –बन्जाडे)को  बयान चलिरहँदा सूप्रिम पीडितहरू प्रदर्शन उत्रिए। पीडितहरूले ब्यानर सहित सरकारी वकिलको कार्यालयमा प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीको अवरोध गरेपछि जिल्ला अदालत अगाडी प्रदर्शन गरे। सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगहरूलाई कारबाही गर, पीडितलाई न्याय दे, रवि, छबी जस्तै जिबीलाइ पनि पक्राउ गर लगायतका नारा लगाउँदै सूप्रिम पीडितहरू प्रदर्शनमा उत्रेका हुन।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बचत रकम फिर्ता  गर्न पर्ने,रकम अपचलन गर्ने सबैलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने लगायतका आफूहरूको माग सम्बोधन हुनु पर्ने बताए।

सर्वसाधारणले सहकारीमा बचत गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा संसदीय छानबिन समितिको सिफारिसमा पूर्व डिआइजी जोशी गत असोज ६ गते  पक्राउ परेका थिए। सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछाने अहिले कास्कीमा प्रहरी हिरासतमा छन्। 

प्रकाशित: ६ कार्तिक २०८१ १६:१५ मंगलबार