नेपाल–भारत सीमा क्षेत्रबाट एउटा भारतीय नम्बरको कारबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट हुँदै भारततर्फ जान लागेको कारलाई शंका लागेर चेकजाँच गर्दा १ सय ३ केजी गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको बिआर ३८ एडब्लू ३७७६ नम्बरको भारतीय नम्बरको कार रोक्न खोज्दा कार चालक कार छाडेर भागेको प्रहरीले जनाएको छ।
चालक फरार भएपछि कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको पछाडि डिक्कीमा लागुऔषध गाँजा फेला परेको थियो। कसले कहाँबाट ल्याएको हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारभित्र भेटिएको चालक अनुमतिपत्र (लाइसेन्स)भारतीय नागरिकको रहेको खुलेको छ भने थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ कार्तिक २०८१ १०:२८ सोमबार