दशकअघि नै नक्सांकन, प्रस्ट रुटको पहिचान, गाइड बुकसमेत तयार पारिए पनि अझै ‘गुरिल्ला ट्रेक’ गुमनाम छ। गुरिल्ला ट्रेकका बारेमा सुनेर यात्रामा निस्कने स्वदेशी तथा विदेशी पर्यटकले न्यूनतम पूर्वाधारसमेत नहुँदा सास्ती खेप्नुपरेको छ । २०८१/८२ को बजेटमा गुरिल्ला ट्रेकलाई आकर्षक गन्तव्य बनाउने भनिए पनि अहिलेसम्म काम थालनी भएको छैन।
नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, तत्कालनी जिल्ला विकास समितिमार्फत २०७२ सालमा घोषणा गरिएको गुरिल्ला ट्रेक (पदमार्ग) मा अहिलेसम्म सामान्य पूर्वाधार पनि बनाउन सकिएको छैन ।
अमेरिकी नागरिक अलोन्डो लोन्सले यो पदमार्गको यात्रा गरी नक्सा तयार पारेका थिए। २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए।
नेकपा माओवादीले ‘जनयुद्ध’लाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि चर्चामा आएको यो पदमार्गको सडकले छिचोलेका कारण मौलिकता गुम्ने डर बढेको छ।२१ दिनको यो पदमार्गमा धेरै ठाउँमा सामान्य पूर्वाधारको समेत अभावमा पर्यटक बीच बाटोबाटै फर्किनुपर्ने बाध्यता छ ।
म्याग्दी, रुकुम, बागलुङ र रोल्पा जिल्लालाई छुने गुरिल्ला पदमार्गको प्रचारप्रसार धेरै भए पनि चारवटै जिल्लाले पूर्वाधार विस्तारमा ध्यान नदिँदा विदेशी पर्यटकसमेत आउन छाडेको पर्यटक गाइड मानबहादुर खत्री दाहाल बताउँछन् । उनका अनुसार विदेशी पर्यटक खोजीखोजी यो पदमार्गमा यात्राका लागि आउँदासमेत निराश हुनुपर्ने अवस्था छ । चार दिनसम्मको यात्रामा खाने, बस्ने, खानेपानी, शौचालयलगायतका पूर्वाधार भए पनि बाँकी १७ दिनको यात्रा सामान्य पूर्वाधार अभावमा निकै सास्तीपूर्ण हुने उनले बताए।
यो पदमार्गले म्याग्दी बागलुङ, रुकुम र रोल्पाको पर्यटन विकासमा योगदान दिने भएकाले पूर्वाधार विस्तारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने यस क्षेत्रको पर्यटन प्रवर्धनमा सक्रिय सुरेन्द्र राना बताउँछन् । उनले विगतमा पटकपटक यो पदमार्गको यात्रा गरी पूर्वाधार निर्माणमा सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएको बताए।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको भए पनि पूर्वाधार विस्तार राज्यको प्राथमिकतामा नपर्दा यो क्षेत्र ओझेलमा परेको बताए।
उनले पहिलो चरणमा चार जिल्लाका स्थानीय तहमार्फत छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बंकर, माओवादी नेताका बैठक स्थललगायत संरचना बनाएर प्रदेश र संघीय सरकारमार्फत बजेट ल्याउनुपर्ने बताए।
यो पदमार्ग सञ्चालनमा आए त्यसको सबैभन्दा धेरै फाइदा म्याग्दीलाई हुन्छ, पदमार्गका धेरै बस्ती र स्थान म्याग्दीमा पर्ने र गन्तव्यमा पुगेर फर्कंदासमेत म्याग्दी प्राथमिकतामा पर्ने देखिन्छ। मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमशृंखला, ग्रामीण जीवनशैलीका कारण यो पदमार्ग आकर्षण भए पनि यसको विकासमा राज्य पक्ष चनाखो नहुँदा समस्या भएको श्रेष्ठको भनाइ छ।
२०६० चैत ७ गते माओवादीले म्याग्दीको सदरमुकाम बेनीबजार आक्रमण गर्दा गुरिल्ला टे«कअन्तर्गत पर्ने एक जंगलमा बेनीबजारको हुबहु नक्सासमेत उतारिएको थियो।
म्याग्दीको धबलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले यो पदमार्गका लागि आवश्यक पर्ने पूर्वाधार विस्तार तथा प्रचारप्रसारका लागि आफू तयार भए पनि बजेट अभावले काम गर्न नसकेको बताउँछन् । सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौरसम्म हुन्छ। मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्छ।
म्याग्दीको सदरमुकाम बेनी हुँदै पश्चिम क्षेत्रमा पर्ने दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर मध्यम दुरीको पदयात्राअन्तर्गतका क्षेत्र हुन्। २७, २१ र १४ दिनका तीनवटा प्याकेजमा यो पदयात्रा गर्न सकिन्छ। थोरैमा १४ दिन र बढीमा २७ दिनमा यो पदयात्रा पूरा गर्न सकिन्छ।
प्रकाशित: ४ कार्तिक २०८१ ०७:२३ आइतबार