समाज

होटल सञ्चालकलाई खुकुरी प्रहार गर्ने २ पक्राउ

विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकको मुन होटल तथा गीतगजलका सञ्चालकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले धरानबाट २ जनालाई पक्राउ गरेको छ।

होटल सञ्चालक दिलिपकुमार भगतलाई मंगलबार साँझमा एउटा समूहले होटेलभित्रै खुकुरी प्रहार गरी फरार भएका थिए। भगतलाई खुकुरी प्रहार गरेपछि फरार भएको समूहको खोजी गर्ने क्रममा २ जनालाई धरानबाट बुधबार पक्राउ गरेको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए।

विराटनगर–१० का ४५ वर्षीय सावन दास र विराटनगर–१२ का ४२ वर्षीय विनोदकुमार राय कामत (अभय) लाई धरानबाट पक्राउ गरी विराटनगर ल्याइँदै गरेको इन्स्पेक्टर ओलीले बताए। उनका अनुसार पक्राउ परेका दुवै जना घटना हुनासाथ भारततर्फ भाग्ने योजना बनाए पनि धरान भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

होटल सञ्चालकले जिल्ला प्रहरी कार्यालय मोरङमा नामसहित ४ जनाविरुद्ध जाहेरी दिएका छन्। जाहेरीमा नाममा उल्लेख भएकामध्ये २ जना पक्राउ गरी विराटनगर ल्याइँदै छ भने अन्य २ जनाको खोजी भइरहेको छ।

"पक्राउ परेका २ जनालाई विराटनगर ल्याएर सोधपुछ गरेपछि कसरी र किन घटना भयो भन्ने खुल्छ", इन्स्पेक्टर ओलीले भने "जोहरीमा नाम उल्लेख भएका बाहेक अन्य पनि घटनामा संलग्न हुन सक्छन्। त्यसतर्फ पनि अनुसन्धान अघि बढेको छ। फरार २ जनाको खोजी तीव्र पारिएकाले चाँडै पक्राउ पर्नेछन्।"

खुकुरी प्रहारबाट भगतको देब्रे हात र नाकको डाँडीमा पनि चोट लागेको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०८१ १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App