समाज

बाढी नियन्त्रणमा दीर्घकालीन समाधान खोज्छु: खानेपानी मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका–३१ स्थित भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। आइतबार उनले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन्।

असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले खोलातटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुगेको थियो। भेडाहाखोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर र आसपासका बस्तीमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्‍याएको छ।

निरीक्षणका क्रममा स्थानीयले वर्षौदेखि खोलाले कटान र बाढीको जोखिम रहेकाले समस्याको दीर्घकालीन समाधान गर्न तटबन्ध निर्माणका निम्ति आग्रह गरेका थिए।

मन्त्री यादवले समस्याको दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो। त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु।”

मन्त्री यादवसँगै पूर्वप्रदेशसभा सदस्य जन्नत अन्सारी लगायत व्यक्ति पनि निरीक्षणमा पुगेका थिए। अन्सारीले यस क्षेत्रको समस्या समाधानका निम्ति स्थानीय निकाय र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।

-रासस

प्रकाशित: २७ आश्विन २०८१ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App