समाज

बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

बाढीपहिरोका कारण क्षतविक्षत भएको  बीपी राजमार्गमा शुक्रबारदेखि यातायात सञ्चालन हुने भएको छ। गत असोज ११ र १२ गतेको बाढीपहिरोले बीपी राजमार्गका कतिपय स्थान भत्काएको थियो। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थलमार्ग अवरुद्ध हुँदा यसपटक धेरै मानिसले राजधानी छाड्न सकेनन्। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “बिपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोसी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार शुक्रबार बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ ।

आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो ।”

संघीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको बताउँदै सचिव शर्माले अहिले अवरुद्ध रहेका ठाउँहरूमा कतै दुईतर्फी र कतै एकतर्फी सञ्चालनमा आउने स्पष्ट पारेका छन्। 

प्रकाशित: २५ आश्विन २०८१ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App