समाज

पुण्य गौतममाथि आक्रमण गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्ति दिएर भाइरल भएका पात्र पुण्य गौतममाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गौतममा चार दिन(असोज २१) गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका वेशीगाउँमा राति करिब सवा नौ बजे आक्रमण भएको थियो । उक्त आक्रमणबाट गौतमको टाउकामा चोट लागेर अस्पतालमा भर्ना हुनुपरेको थियो । 

यस क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान र खोजतलास गर्दा दुई जनालाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भई हाल भक्तपुरको च्यामासिँह बस्ने टासी लामा भन्ने सञ्जीव तामाङ र रसुवा नवकुण्ड गाउँपालिका घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङ्दान रहेको प्रहरीले जनाएको छ । 

सञ्जीवलाई मङ्गलवार र दिलबहादुरलाई बुधवार पक्राउ गरेको प्रहरीले जनाएको छ । दुबैजनामाथि ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित: २४ आश्विन २०८१ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App