समाज

कालीगण्डकी लोकमार्गको मोदीवेणी-मुडिकुवा सडक पनि खुल्यो, दसैंमा यात्रुलाई सहज

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको  छ। वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो। सडक खुलेसँगै दसैंमा सर्वसाधारणलाई सजिलो भएको छ। फलेबास नगरपालिकाको पहलमा निर्माण कम्पनीले सडक खुलाएको हो।

सडक सञ्चालन भएसँगै कुश्मादेखि दक्षिण पर्वतका फलेबास, महाशिला, विहादी, पैँयु गाउँपालिकामा जाने सवारीसाधन सो मार्ग हुँदै चल्न थालेका छन्। त्यस क्षेत्रमा बासिन्दालाई झण्डै एक घण्टाको सवारी यात्रा छोटिएको छ। यसअघि जिल्लाका चार पालिकामा जाने सवारीसाधन दोबिल्ला–साइकलचोक–मुडिकुवा हुँदै जाने गरेका थिए।

निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी लोकमार्गको फलेबास–अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण सात वर्षदेखि पूरा हुन सकेको छैन । मोदीवेणीदेखि मुडिकुवासम्मको खण्ड सञ्चालनमा आए पनि अर्मादीदेखि–मोदीबेनीसम्म भने अवरुद्ध नै छ।

विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्नेमा काम नसकिएपछि थप गरिएको समय २०८१ असोज मसान्तसम्म रहेको आयोजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार स्याङ्जाको मिर्मिदेखि पर्वतको सेतीबेनीसम्मको १० किमी सडक पनि कालोपत्रको चरणमा रहेको छ भने पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किमी सडकसमेत चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने योजना छ। 

प्रकाशित: २४ आश्विन २०८१ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App