समाज

परपुरुषसँग लागेको भन्दै डिभोर्स भइसकेकी श्रीमतीको बीभत्स हत्या !

दुई वर्षअघि ‘डिभोर्स’(सम्बन्ध विच्छेद) भइसकेकी पूर्व श्रीमती परपुरुषसँग लागेको भन्दै बीभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घटना उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेको हो । पक्राउ पर्ने व्यक्ति ताप्ली गाउँपालिका–४ ठाना गाउँ स्थायी घर भई अहिले जलजले बस्दै आएका ३९ वर्षीय जंगबहादुर तामाङ हुन्। 

तामाङले मंगलबार साँझ करिब साढे ६ बजे २९ वर्षीय पूर्व श्रीमती उर्मिला लामाको हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार उर्मिलाको गर्धन छिनालेर टाउको बोक्दै हिँडेको अवस्थामा भेटिएपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोही अवस्थामा उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जंगबहादुर र उर्मिलाको दुई वर्षअघि डिभोर्स भइसकेको खुलेको छ । उनीहरूले २०७१ मा बिहे गरेको र ०७९ मा डिभोर्स भएको पाइएको जिल्ला प्रहरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) राजन चापागाईँले जानकारी दिए ।

उनीहरूका ६ वर्ष र ९ वर्षका दुई छोरा पनि रहेको खुलेको छ । छोराहरू दुबै जना आमासँगै बस्दै आएका थिए । छोराहरूको पढाई खर्च भने आफै व्यहोर्ने गरेको जंगबहादुरले प्रहरीसमक्ष दाबी गरेका छन् । 

प्रहरीसँगको प्रारम्भिक सोधपुछमा जंगबहादुरले पूर्व श्रीमतीले आफ्नो कमाईको दुरुपयोग गरेको र परपुरुषसँग मोज मस्ती गरेको भन्दै आवेगमा हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बतायो । 

यता डिभोर्सपछि उर्मिला जलजलेमै एउटा कोठा भाडामा लिएर चिया पसल चलाउँथिन् । जंगबहादुर भने भारततिर मजदुरी गर्दै आएका थिए । 

असोज १३ गते जंगबहादुर भारतबाट फर्केर आएको खुलेको छ । फर्केर आएपछि उनी पनि डिभोर्स भइसकेकी पूर्व श्रीमती उर्मिलासँगै बस्न थालेको पाइएको छ । 

‘बारम्बार झैझगडा हुने गरेपछि ०७९ मै डिभोर्स भएको देखिन्छ । तर डिभोर्सपछि पनि उनी यस पटक आएर पूर्व श्रीमतीसँगै बस्न थालेको पाइएको छ,’ डिएसपी चापागाईँले भने,‘त्यही पुरानो रिसिइबी र परपुरुषसँगको सम्बन्धको शंकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ अहिलेसम्म सामान्य बयान मात्र भएकाले थप कुरा अनुसन्धानपछि खुल्दै जाने उनले बताए । 

थप अनुसन्धान गर्न बुधवार जिल्ला अदालतबाट म्याद लिने प्रहरीको तयारी छ । 

प्रकाशित: २३ आश्विन २०८१ १४:१७ बुधबार

#murder Divorse #ConflictOnMarried