समाज

ताप्लेजुङमा चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा

पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन हुने गरी ताप्लेजुङ प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना अगाडि सारेको छ। जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले नागरिकको जीउधन सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको बताए।

उनले सुरक्षाका आवश्यक सूचना संकलनका लागि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका जनशक्ति परिचालन गरिएको जानकारी दिए। अवाञ्छित गतिविधि हुन नदिन प्रशासनका तर्फबाट प्रभावकारिताका साथ सुरक्षा योजना कार्यान्वयन गरिने रावलको भनाइ छ। उनले चाडपर्वका बेला हुने मानिसहरूको चापसमेतलाई ध्यानमा राखी सुरक्षा जनशक्ति परिचालनको प्रबन्ध गरिएको जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमार्फत सवारी तथा चालक जाँच अभियान सञ्चालन गर्न थालिएको उनले बताए। तीव्र गति र अनियन्त्रित सवारी चालकलाई नियन्त्रणमा लिनेदेखि मादक पदार्थ सेवन गरी सवारी चलाए/नचलाएको बारेमा सूक्ष्म निगरानी बढाउने स्थानीय प्रशासनले तयारी गरेको छ। प्रशासनले निर्धारित समयभन्दा पछिसम्म होटल खुला नराख्नसमेत होटल व्यवसायीलाई आग्रह गरेको छ। शंकास्पद क्षेत्र र स्थलहरूमा बलियो सुरक्षा जनशक्ति परिचालन गर्ने तयारी ताप्लेजुङ प्रहरीले गरेको छ।

पाथिभरा क्षेत्र विकास समितिसँगको समन्वयमा ताप्लेजुङ प्रहरीले मादक पदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन प्रयोग गरिने ब्रेथलाइजर मेसिन ल्याउने भएको छ। संघीय राजधानीसहितका क्षेत्रमा मादक पदार्थ सेवनको मात्रासमेत थाहा पाउने गरी नयाँ ब्रेथलाइजर मेसिन प्रयोगमा आएको छ। जिल्ला प्रहरी प्रमुख रावलका अनुसार करिब एक महिनाभित्रमा ताप्लेजुङका लागि दुईवटा ब्रेथलाइजर मेसिन आउँदै छ। ब्रेथलाइजर उपलब्ध नभएसम्म ट्राफिक प्रहरीले आफूसँग भएका सबै उपाय अवलम्बन गरी सवारी चेकजाँचमा कडाइ सुरु गरिसकेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक टंक दाहालले मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा, सवारी नियम उल्लंघन गरी तीव्र गतिमा सवारी कुदाउनेलाई शीघ्र नियन्त्रणमा लिन सादा पोसाकमा प्रहरीसमेत परिचालन गर्ने नीति लिइएको जानकारी दिए। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य भन्छन्, ‘हामी सुरक्षा मजबुत बनाउन सबै हिसाबले तयार भई एक्सनमा गइसकेका छौं।’

प्रकाशित: २३ आश्विन २०८१ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App