समाज

मेची राजमार्गको राजदुवालीबाट गुड्न थाल्यो मालबाहक गाडी

पहिरो झरेर असोज १८ देखि बन्द रहेको मेची राजमार्गमा मालबाहक सवारी साधनसमेत गुड्न थालेका छन्। गएरातिदेखि सवारी चलेको इलाम नगरपालिका–९, राजदुवाली खण्डबाट ठूला सवारीका साधनसमेत गुड्न थालेका हुन्।

मर्मत गर्दागर्दै झरेको पहिरोका कारण मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड अवरुद्ध बनेको थियो। क्षतिग्रस्त स्थान तारजालीमा ढुंगा भरेर उठाइ मर्मत गरिएको छ। त्यसभन्दा अलि माथि पहिरो जान धाँजा फाटेको ठाउँलाई तर्काएर करिब ६० मिटर नयाँ ट्र्याकसमेत खोलिएको छ। अहिलेलाई साना सवारी साधन, मोटरसाइकल यहाँबाट गुडिरहेका छन्।

पानी नपर्दा राजमार्ग सहजै भएपनि पानी परेपछि भने पुनः जोखिम बढ्ने सम्भावना कायमै छ। डिभिजन सडक कार्यालयका इन्जिनियर विपिन ढुंगानाले अब यहाँबाट साना–ठूला सवारीका साधन चलाउन सकिने बताए। ‘हामी मर्मत गरिएको खण्डलाई अझ सहज बनाउँदैछौं,’ उनले भने, ‘अहिले पानी नपर्दालाई चाहिँ गाढी चलाउन समस्या छैन।’

स्थानीय जगत नेम्बाङले यो खण्डबाट रातिदेखि पेट्रोलियम बोकेका ट्यांकर, ट्रकलगायत सवारी साधनसमेत पार भएको बताए। ‘पानी प¥यो भने चाहिँ मर्मत गरिएको ठाउँमा गाडी पास हुन समस्या नै देखिन्छ,’ उनले भने, ‘तर, अहिले बिहान त साना–ठूला सबैखाले सवारी साधन चलिरहेका छन्।’

मेची राजमार्ग बन्द हुँदा झापाबाट इलाम, पाँचथर, ताप्लेजुङ आउ–जाउ गर्ने सवारीका साधन ठप्प थिए। वैकल्पिक सडकबाट पनि मालबाहक सवारी साधन चल्ने अवस्था नभएपछि यी जिल्लामा खाद्यान्नसहित पेट्रोलियम अभाव हुन थालेको थियो।

इलाममा चाहिँ झापाबाट राजदुवालीको माइखोलामै आइपुगेको ट्यांकर फेरि फर्काएर झापा–बेलासे–जितपुर–मंगलबारे–साखेजुङ हुँदै तीन ट्यांकर मंगलबार साँझ इलाम ल्याइएको थियो। राजमार्ग खुलेपछि जनजीवन सहज हुनथालेको छ।

राजमार्गको यो खण्ड मर्मतमा लामो समयदेखि करोडौं रुपैयाँ खर्च भइसकेको छ। तर, यहाँको जमिन नै बिस्तारै बगिरहेकाले सडक स्थायी हुने सम्भावना कम देखिएको छ। सडक विभागले गरेको भौगर्भिक अध्ययनमा पनि यहाँको जमिनमा भित्रभित्रै पानी बगिरहेकाले राजमार्ग भास्सिँदैगएको उल्लेख छ।

यसको विकल्पमा इलाममा विभिन्न सडक खोजी गरिएको छ। गोदकको सिमलगोलाईबाट माइबेनी हुँदै तिल्केनी, झापाबाट दानाबारी–बेलासे हुँदै गोलखर्कलगायत सडक मर्मत भइरहेको छ। मेची राजमार्ग बन्द हुँदा पन िवैकल्पिक सडकका रूपमा यी सडकमा अब सवारी साधन चलाउने तयारी गरिँदैछ। 

प्रकाशित: २३ आश्विन २०८१ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App