समाज

घोडामर्चा बेचेर घरखर्च

जुम्लाको चन्दननाथ नगरपालिका-६ छिना गाउँकी ४३ वर्षकी पार्वती थापा दैनिक ३ देखि ५ केजीसम्म स्थानीयस्तरमा पाइने जडिबुटी (घोडामर्चा) टिप्छिन्। उनले साउनदेखि असोजसम्म  घोडामर्चा टिपेर आफ्नो ६ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन्।

दैनिक सयदेखि एक हजार ५ सय देखि दुई हजार ५ सयसम्म आम्दानी हुने थापा बताउँछिन्।उनले प्रति केजी जुम्ला बजारमै पाँच सय केजीमा बेचिरहेकाे बताइन्। अघिल्लो वर्ष उनले ६० केजी घोडामर्चा बेचेर ३० हजार नगद रुपैयाँ बुझेकी थिइनँ भने यो वर्ष असोज १० गते मात्रै ५४ केजी बिक्री गरी २७ हजार रुपैयाँ बुझेको सुनाइन्। अझै २० केजी बिक्री गर्न बाँकी छ, उनले भनिन्।

घरपरिवार पाल्न, लुगाफाटो, चामल तेल र छोराछोरीको पढाइ खर्च जुटाउन घोडामर्चा टिप्ने गरेको बताउँछिन्। यस्तै नगरपालिका-४ मालाभिड गाउँका ७१ वर्षका भानुभक्त चौलागाई घोडामर्चा दैनिक १० देखि २० प्याकेटसम्म टिप्छन्। उनी विहान खाना खाएर दिउँसो भरवनमा टिपेर साँझ घर फर्कने गरेको बताउँछन्।

‘सधैंभरि घरमै बस्नुभन्दा हरियाली वनमा घोडामर्चा टिप्नु रमाइलो हुन्छ। हिंड्डुल गर्दा पनि स्वास्थ्यका हिसाबले राम्रो हुने कमाइ पनि राम्रो हुन गर्छ’, उनले भने। चौलागाईका अनुसार १६ केजी पहिलोपटक बेचेर ८ हजार बुझेँ, दोस्रो पटक भने १८ केजी भयो, नगद नौ हजार रुपैयाँ कमाएको छु।

दुख गरी संकलन गरेको वस्तु जुम्लाको सदरमुकाममै बेच्न पाउँदा उनीहरू खुसी छन्। उनले पनि नुन खर्च,तेल,नातिनातिना नाति पढ्ने, बिजुली खाने खर्च जुटाउने गरेको बताउँछन्। वडा दसैं पनि नजिकै आएको छ। उनीहरूले टिपेर ल्याइएको घोडामर्चा जुम्ला सदरमुकाममा रहेको चन्दननाथ मिनीमार्केटले सजिलैसँग खरिद गर्ने गरेको छ।

‘घरमा राम्रोसँग मनाउन पाइने भयो, भानुभक्तले भने। ‘नगरपालिका भित्रकै सुनथापाल, जुनिखोला र मेलखाने लगायत वनमा घोडामर्चा प्रशस्त पाइन्छ। हरियो टिपेर घरमा ल्याएर दुई दिन घाममा सुकाएर धुलो बनाएर बेच्ने गरिन्छ। स्थानीय बजारदेखि काठमाडौँ जस्ता ठुलो शहरका भान्सासम्म पुग्ने जुम्लाको घोडामर्चा चिया खान उपयुक्त मानिन्छ।’

यस्तै स्वास्थ्यका हिसाबले  दाँत दुख्ने कम गर्छ। साउन सुरु भएदेखि जुम्लामा डोको बोकेर घोडामर्चा खोज्नेको ताँती लाग्छ। अन्तरजिल्लाबाट घुम्न आएका आगन्तुक तथा पर्यटकले किनेर लैजाने गरेका छन्। कुनै उपयोगिताबिना खेर गइरहेको स्थानीय जडिबुटीको प्रयोग गरेर चिया उत्पादन गर्न टिप्न थालिएको हो। जडिबुटीबाट उत्पादन गरिएको चियाको माग शहरमा समेत हुन थालेपछि किसानहरू जडिबुटी (घोडामर्चा) संकलनमा आकर्षित  छन्।

जुम्लामा जडिबुटीबाट उत्पादन भएको घोडामर्चा चियाको माग पछिल्लो समयमा देशका ठूला शहरमा समेत रहेको चन्दननाथ मिनीमार्केट जुम्लाका प्रमुख राजुबोहोराले बताए। ‘जिल्लामा भन्दा देशका ठुला सहरमा बढी छ’, उनले भने ‘जुम्ला लगायत कर्णालीमा खेर गइरहेको जडिबुटीबाट राम्रो आम्दानी लिन सकिन्छ’, तर जुम्लाका स्थानीय सरकारले सोच्नुपर्छ। उनले भने, ‘कर्णालीमा रहेको बेरोजगारी समस्या समधान गर्न यसले सहयोग गरेको छ।’

त्यत्तिकै खेर जाने गरेको जडिबुटीलाई प्रयोग गरेर स्थानीय रूपमा नै राम्रो आम्दानी लिन सकिने देखिन्छ।

प्रकाशित: २० आश्विन २०८१ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App