समाज

रविविरुद्ध चितवनमा सहकारी पीडितले प्रदर्शन गरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)_ का सभापति रवि लामिछानेविरुद्ध शनिबार पनि चितवनमा प्रदर्शन भएको छ। भरतपुरस्थित नारायणकला मन्दिरमा रास्वपाको प्रशिक्षण कार्यक्रम चलिरहेका बेला सहकारी पीडितले प्रदर्शन गरेका हुन्।

लायन्स चोकबाट सुरु भएको सहकारी पीडितको प्रदर्शन नारायणीकला मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रहेका रविका समर्थकले प्रदर्शनकारीमाथि ढुङ्गा र पानीका बोतल प्रहार गरेको सहकारी पीडित सङ्घर्ष समितिका संयोजक सालिकराम दवाडीले जानकारी दिए।

उनका अनुसार, प्रदर्शनकामा गएका चार जना प्रहरीको नियन्त्रणमा छन्। घाइते भएका एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए। उनले सहकारी पीडितलाई प्रहरी प्रशासनले समेत दमन गरेको आरोप लगाए।  दवाडीका अनुसार शान्तिपूर्ण प्रदर्शन गरेर रविलाई ज्ञापन पत्र बुझाउने तयारी थियो। सो क्रममा भित्रबाट ढुङ्गा र पानीका बोतल प्रहार भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय चितवनले कार्यक्रम स्थलमा झडपको सृजना भएपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।कार्यक्रम स्थलमा सुरक्षाका लागि खटिएको प्रहरीले स्थिति नियन्त्रणमा लिएको हो। 

रास्वपाका नेताले भने बचाउ गरेका छन्। जिल्ला अध्यक्ष कृष्ण भुसालले बाहिरबाट ढुंगामुढा गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बताए। बाहिरबाट ढुङ्गा प्रहार गर्नु भएछ, प्रहरीले उहाँहरूलाई नियन्त्रणमा लिएको हो, उनले भने फूलले स्वागत गर्ने हामीले किन ढुङ्गा प्रहार गर्थ्यौं र ? यसअघि शुक्रवार चितवनको मुग्लिङमा पनि सहकारी पीडितले रविलाई कालो झण्डा देखाएका थिए।

प्रकाशित: १९ आश्विन २०८१ १५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App