समाज

साइकल चालकको मृत्यु भएपछि विराटनगरमा तनाव, १० सेल अश्रुग्याँस प्रहार

विराटनगर भन्सार कार्यालय (आइसिपी)लाई लक्षित गरेर ढुंगामुढा भएको छ।

भन्सार कार्यालय तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन १० सेल अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार अहिले स्थिति सामान्य रहेको र पीडित पक्षसँग छलफल भइरहेको छ।

बिहीबार साँझमा विराटनगर–१८ स्थित आइसिपी रोडमा ना ४ ख २४८३ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ६० वर्षीय श्याम साहको मृत्यु भएको थियो। मृतक साह साइकलमा घरतर्फ जाँदै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। विराटनगरबाट आइसिपीतर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठाएको थियो। तर, साहलाई अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको हो। दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान प्रहरीले थालेको छ।

दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत आक्रोशित भिडले तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुर्व्यवहारसमेत गरेको प्रहरीले जनाएको छ।

सडक साँघुरो हुँदा आइसिपी रोडमा दुर्घटना बढेको भन्दै स्थानीय आन्दोलित बनेका थिए। ठूलो संख्यामा जम्मा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, सडकमा रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतको माग राखेर आन्दोलन गरेका थिए।

त्यस, क्रममा आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ। कार्यालय भवनको सिसा फुटेका छन्। भिडलाई रोक्ने क्रममा ढुंगामुढा हुँदा असइसहित ४ जना प्रहरी सामान्य घाइते भएको बताउँदै, डिएसपी जोशीले भने, ‘स्थिति अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार र सामान्य बल प्रयोग भएको छ। 

आन्दोलनकारीतर्फ कोही पनि घाइते भएनन्। अहिले भन्सार परिसरको अवस्था सामान्य रहेको र वार्ता भइरहेको छ। विराट नर्सिङ होममा रहेको शवलाई पोस्टमार्टका लागि कोशी पठाउने र त्यसपछि शव परिवारले बुझ्ने भएका छन्।’

आन्दोलनका क्रममा उठेका मागहरूलाई सम्बोधन गर्ने विषयमा पुनः शनिबार छलफल गर्ने सहमति भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १८ आश्विन २०८१ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App