समाज

बाढी र पहिरोले अवरुद्ध पहाडी सडकमा गुड्न थाले गाडी

बिग्रेको सडक मर्मत गर्दै। तस्बिरः महेश्वर

केही दिन अघिको अविरल वर्षाले सडक बिग्रिएर यातायात आवागमन रोकिएका पहाडी सडकहरू सुचारु हुन थालेका छन्। असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको पहिरोले बिग्रेका सडकहरू स्थानीय तहहरूले मर्मत गरेपछि यातायात आवागमन सुचारु भएको हो।

जिल्लाका सबैभन्दा बिकट पहाडी गाउँपालिकाहरू लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी जोड्ने सडकहरू सुचारु भएका छन्। ती स्थानीय तहका भित्री सडकहरू खुल्न नसके पनि गाउँपालिका केन्द्रदेखि सदरमुकाम जोड्ने मुख्य सडकहरू भने सञ्चालन हुन थालेको यातायात व्यवसायीहरू बताउँछन्। जिल्लाको कर्णाली भनेर चिनिने लिमचुङबुङ गाउँपालिका जोड्ने गाईघाट–मुर्कुची–पुँवारे–माझखर्क–बाराहा सडक बिहीबारदेखि सुचारु भएको छ।

मुर्कुची–माझखर्क–बाराहा खण्ड सडक लगातार ५ दिन लामो मर्मत गरेपछि सुचारु भएको गाउँपालिका अध्यक्ष मेजर राईले बताए। उनका अनुसार चाडबाड नजिकिएका कारण रातदिन नभनी मर्मत गरेर सडक सुचारु गरिएको हो। बिहीबार बिहानदेखि गाईघाट–मुर्कुची–लिमचुङबुङ सडकमा बोलेरो, सुमो र मोटरसाईकलहरु सहजरुपमा सञ्चालन हुन थालेको अध्यक्ष राईले बताए।

गाईघाट–बाराहा आउजाउ गर्न सहज भइसके पनि भित्री सडकहरू भने अझै पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्। मर्मत कार्य भइरहेकाले आन्त्रिक सडकहरू पनि केही दिनभित्रै सुचारु हुने अध्यक्ष राईले बताए। वर्षाले दर्जनौँ ठाउँमा भत्काउनुका साथै पहिरोले पुरेर सबै जसो सडकहरू यातायात आवागमन गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार र उँधौलीजस्ता चाडपर्व नजिकिएकाले रातदिन लगाएर मर्मत गर्दै सडक सुचारु गरिएको बताए। गुरुङका अनुसार गाउँपालिकाले विपत् व्यवस्थापन कोष शीर्षकको १९ लाख रकम सडक मर्मतमा लगाएको छ। त्यसैगरी गाउँपालिकाकै स्काभेटर, ट्याक्टर र भाडाका यन्त्र उपकरणसहित प्राविधिक जनशक्ति परिचालन गरेर सडक सुचारु गरिएको उनले बताए।

उता छिमेकी ताप्ली गाउँपालिकाका सडकहरू पनि सुचारु हुन थालेका छन्। उपभोग्य सामग्रीका लागि सदरमुकाम गाईघाटभन्दा कटारी बजार र घुर्मीमा निर्भर ताप्लीबासीका लागि कटारी–घुर्मी खण्डको सडक महत्त्वपूर्ण छ। त्यसैले रातदिन नभनी कटारी–बेतिनी खण्डको सडक मर्मत गरेर सुचारु गरिएको अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताए। अध्यक्ष विश्वकर्माका अनुसार उता घुर्मी जोड्ने सडक पनि सुचारु हुन लागेको छ।

पहिरोले बिग्रिएको गाउँपालिका केन्द्र रुपाटारदेखि इनामे, ओख्ले, ठानागाउँ, कटहरे वडा कार्यालय आउजाउ गर्ने र अन्य शाखा उपशाखा सडकहरू पनि सुचारु गर्न  मर्मत कार्य भइरहेको अध्यक्ष विश्वकर्माले बताए। आन्तरिक सडकहरू पनि शुक्रबार र शनिबारभित्रै सुचारु गरिसक्नेगरी मर्मत भइरहेको उनको भनाई छ। 

प्रमुख प्रशासकीय अधिकृत भक्त राईले ताप्लीका सडकहरू पनि सबै कच्ची भएकाले सामान्य वर्षाले नै भत्काउने गरेको छ। यसपटक असामान्य खालको वर्षाले धेरै ठाउँ क्षति गरेको सडकहरू रातदिन मर्मत गरेर सुचारु गराइएको राईले बताए। राईका अनुसार सडक मर्मत गर्न गाउँपालिका र भाडाका जेसिवी तथा स्काभेटर र ट्याक्टर, टिफरजस्ता यन्त्र उपकरणका साथै प्राविधिक जनशक्तिलाई फिल्डमै राखेर खटाइएको छ।

ताप्लीले पनि विपत् व्यवस्थापन शीर्षकमै विनियोजित रकम खर्च गर्ने गरी सडक मर्मत गरेको राईले बताए। अहिले धमाधम मर्मत कार्य भइरहेकाले खर्च कति हुने भन्ने यकिन नभएको उनको भनाई छ। तर, दसैँ, तिहारजस्ता चाडबाडमा गाउँपालिकाबासीलाई आउजाउ गर्न सहज बनाउने उद्देश्यले खर्चको चिन्ता नलिई मर्मत कार्य भइरहेको राईले बताए।

त्यसैगरी अर्को गाउँपालिका रौतामाईले पनि सडक सुचारु गर्न मर्मत कार्य तीव्र पारेको छ। गाईघाटदेखि गाउँपालिका केन्द्र भुट्टार जोड्ने मुर्कुची–पुवारे–भुट्टार खण्डको मर्मत गरेर यातायात सुचारु र्भइसकेको अध्यक्ष वीरेन्द्र मगरले बताएका छन्। त्यसैगरी आन्तरिक सडकहरू पनि मर्मतपछि केही सुचारु भइसकेका छन् भने केही छिट्टै सुचारु गर्ने गरी मर्मत भइरहेको अध्यक्ष मगरको भनाई छ।

प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले दसैँ तिहारमा आउजाउ गर्न सबैलाई सहज हुने तरिकाले रातदिन सडक मर्मत भइरहेको बताएका छन्। उनका अनुसार ८ वटा वडा रहेको रौतामाईका ७, ८, २ र १ नं. वडालाई समेटने सडक मुर्कुची–माझखर्क–लिमचुङबुङ खण्डलाई लिमचुङबुङसँग मिलेर मर्मत गरिएको छ। त्यसैगरी ३ नं. लाफागाउँ, ४ नं. पोखरी, ५ नं. आँपटार र ६ नं. रौतापोखरी जोडिएका सडकहरूको मर्मत कार्य पनि सकिन लागेको हाकिम श्रेष्ठले बताए।

उता उदयपुरगढीका सडकहरू पनि मर्मत गरेर सुचारु भईसकेको छ। मुख्यगरी नेपाटार–उदयपुरगढी खण्डको स्तरोन्नति निर्माणाधीन सडकमा पहिरो खसेर अवरोध गरेकोमा १३ गते नै मर्मत गरेर सुचारु गरिसकिएको छ। १ नं. वडाको तावाश्रीदेखि छिमेकी कटारी नगरपालिकाको सीमासँग जोडिएको सडक भने १ सय मिटर भत्केकाले मर्मत कार्य भइरहेको गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले बताए।

प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईले अन्य ठाउँको तुलनामा उदयपुरगढीमा उल्लेख्य क्षति नभएकाले सडकहरू प्राय सामान्य मर्मतमै सञ्चालनमा आएको बताए। पहाडी भूभाग भए पनि १, २, ३ र ४ नं. वडाबाहेकको भूभाग खोँच र घना जङ्गलमा रहेकाले सडकहरू धेरै क्षति नभएको हाकिम गुरागाईको भनाई छ। बरु नेपालटारदेखि गाउँपालिका केन्द्र गढीसम्म आउने निर्माणाधीन सडक चाहिँ काम भइरहेकाले वर्षाले समस्या उत्पन्न गर्ने गरे पनि तत्काल मर्मत गरेर सुचारु गर्ने गरिएको हाकिम गुरागाईले बताएका छन्। 

प्रकाशित: १८ आश्विन २०८१ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App