समाज

सूचना प्रविधिको गलत प्रयोगले अपराधका घटना बढ्दै

अपराध घटाउन सरोकारवालासँग सहकार्य गर्ने प्रस्ताव सहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आयोजना गरेको कार्यक्रमका सहभागी। तस्बिरः नागरिक

ताप्लेजुङ – ताप्लेजुङ प्रहरीले अपराधका घटना बढ्दै जानुमा सूचना र प्रविधिको गलत प्रयोग,अधिक मात्रामा हुने मादक पर्दाथको सेवन र लागू औषध तथा दुर्व्यसनीलाई मुख्य दोष देखाएको छ।

अपराधका घटना बढ्दै जानुका कारण खोतल्दै प्रहरीले अपराध न्यूनीकरणमा सरोकारवालासँगको सहकार्यलाई प्राथमिकता दिने समेत बताएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले यी वाहेक लोभ लालच, प्रलोभन र करकाप,बालबालिकामा यौन शिक्षा र सामाजिक सुरक्षाको अभावका कारण अपराध न्यूनीकरणमा समस्या आइरहेको बताए। उनले व्यक्तिगत मान–प्रतिष्ठासँग जोडिएका कारण पीडित पक्ष सम्पर्कमा नआउँदा पीडकको हौसलामा वृद्धि भई अपराधका घटना अझ बढी हुने खतरा रहेको पनि जानकारी दिए।

बस्नेतका अनुसार खुल्ला सिमाना रहेकोले अपराध गरेपछि अभियुक्त सजिलै भारत पस्न सक्ने भएकोले अपराधीलाई कानुनी दाहेरामा ल्याउन कठिनाई भइरहेको छ।‘अपराधीलाई कानुनी दाहेरामा नल्याउदा सम्म जति प्रयास गरेपनि सार्थक परिणाम दिन सकिन्न’उनले भने‘यस्तो बेला पीडित पक्षमा नैरस्यता र पीडकको मनोल उच्च हुन्छ’। बस्नेतले सामाजिक सुरक्षाको अभावमा पीडित पक्ष प्रहरीको सम्पर्कमा नआएको,आफन्त र नातेदार नै पीडक बनेको अवस्थामा गम्भिर प्रकृतिका घटनाको जाहेरी पनि प्रहरीकहाँ नआउने,पीडित पक्ष आफैं अनुसन्धान पश्चात अदालतमा पेश भएको मुद्दाको सुनुवाइका क्रममा आर्थिक प्रलोभनमा परी आफैंले बयान उल्टो दिने गरेको र भौगोलिक बिकटताका कारण प्रहरीको पहुँच सबै क्षेत्रमा पुग्न नसक्नुलाई अपराध बढ्नुका मुख्य चुनौती औंल्याएका छन्।

उनले अपराधिक घटनाका पीडक मध्ये अधिकांश घटनामा आफन्त नै दोषी रहेको अवस्थामा नातेदार तथा राजीतिक पृष्ठभुमी भएका व्यक्तिहरुले मेलमिलाप गराउने र आर्थिक लेनदेनमा बिचौलियाको भुमिका निर्वाह भइरहेको हुँदा यस्तो प्रवृतिले घटना गुपचुप रहने गरेको जानकारी दिए। ‘पीडकलाई आर्थिक मामिलाले छुट दिन मंजूर हुने हो भने पीडितले कहिल्यै न्याय पाउँदैन’उनले भने।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक काशीनाथ रेग्मीका अनुसार चालू आर्थिक वर्ष २०७४–०७५ मा प्रहरीमा जम्मा ८४ वटा मुद्दा दर्ता भएका छन्। ती मध्ये ५२ वटा फस्र्यौट गरिएको छ। आव २०७४–०७५ को एक वर्षे अवधिमा १ सय ११ थान मुद्दा दर्ता भएका थिए,ति मध्ये ६३ थान मद्दा सोही वर्ष फस्र्यौट गरी बाँकी चालू आवका लागि जिम्मेवारी सरी आएका थिए।

रेग्मीले पछिल्ला तीन वर्षका अपराधका घटनाको र फस्र्यौट अवस्थाका बारेमा जानकारी दिँदै आव २०७२–०७३ मा भन्दा आव ०७३–०७४ मा अपराधका घटनामा उल्लेख्य कमी आएको बताए। २०७२–०७३ मा १ सय ४१ वटा मुद्दा दर्ता भएकोमा त्यसको एक वर्ष पछिको आवमा ३० वटा घटना कमी भएका थिए।

रेग्मीका अनुसार तीन वर्षको अवधि मध्ये चालू आवमा सबैभन्दा बढी संगठित तथा आर्थिक अपराधकाा घटना भएका छन्। उनका अनुसार कुल घटना मध्ये ३६ प्रतिशत घटना यस्ता प्रकृतिका छन् भने २५ प्रतिशत ज्यान सम्बन्धी,१४ प्रतिशत महिला तथा बालबालिका सम्बन्धीका घटना रहेका छन्। सो भन्दा अघिल्लो आवमा भने सबैभन्दा बढी ज्यान सम्बन्धीका ३२ प्रतिशत घटना भएका थिए भने दोस्रोमा संगठित अपराधका २६ प्रतिशत घटना भएका थिए।

आव २०७२–०७३ मा भने सबैभन्दा बढी ४५ प्रतिशत घटना संगठित तथा आर्थिक अपराधसँग सम्बन्धित थिए भने २१ प्रतिशत घना ज्यान सम्बन्धी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रकाशित: २२ चैत्र २०७४ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App