समाज

सवारीसाधनको चाप हुने बिपी राजमार्ग सुनसान

यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ। राजमार्ग  छेउका होटल व्यवसाय ठप्प जस्तै छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन्।

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ। रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ। कतै चिराचिरा परेको छ।

गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुङ्गामाटो खसेको छ। नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्ण रुपमा पहिरो हटाउन सकिएको छैन। सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ।

राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुङ्गा, लेदोमाटो झरिरहन्छ। कतिपय भिरका रुखहरु सडकतर्फ नै ढल्किएका देखिन्छन्। जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ।

महोत्तरीको बर्दिवादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको कूल एक सय ६० किलोमिटर लामोे राजमार्गलाई चार खण्ड (पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी,तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर) मा विभाजन गरेर निर्माण गरिएको थियो।

यसमध्ये तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ।

राजमार्गको दुई खण्ड एकतर्फी सञ्चालन, एक खण्ड खुलाउने प्रयासबिपी राजमार्गको पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी बाढीपहिरोले क्षति गरेको थिएन। यो खण्ड दुईतर्फ नै सञ्चालनमा छ। दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी सडकको माथिल्लो बारा, तल्लो बारा क्षेत्रको सात ठाउँमा सानाठूला पहिरो खसेको थियो। दुई ठाउँमा खसेको ठूलो पहिरो एकतर्फ पन्छाएर सडक सञ्चालन गरिएको छ।

तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

कानढुङ्ग्रीमा डाइभर्सन निर्माण

बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि सोही सडकको भित्तातर्फ डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालन गरिएको छ।

शनिबारसाँझसम्म सञ्चालनमा रहेको सडक आइतबार बिहान कालोपत्रसहित धसिएर नदीमा खसेको थियो। सोही सडकको भित्तापट्टीबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो। खुर्कोट–नेपालथोक खण्डको ३२ ठाउँमा माथिबाट खसेको ढुङ्गामाटो पहिरो र लेदोमाटो एकतर्फ पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको छ।

नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको काभ्रे र सिन्धुलीको सिमाना छेउ नेपालथोक देविस्थानमा रोशी र घ्याम्पे खोलाले बगाएको सडक सञ्चालन गर्न आजदेखि ट्र्याक खोल्ने काम सुरु भएको छ।

सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालका अनुसार एस्काभेटरको सहयोगमा खोलालाई पूर्वतर्फ डाइभर्ट गरी अस्थायी ट्र्याक खोल्ने काम सुरु गरिएको हो। बाढी बगाएको एक सय मिटर सडकलाई रोशी खोलालाई डाइभर्ट गरेर अस्थायी ट्र्याक निर्माण सुरु गरिएको उनले बताए।

उनका अनुसार यो ट्र्याक खुलेपछि काभ्रेको मङ्गलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेंसीदेखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्र्याक खोल्नुपर्ने हुन्छ। बर्दिवासदेखि धुलिखेलसम्मको तीन खण्डको ११० किलोमिटर सडकमा यातायात सञ्चालन गर्न सकिने र ५० किलोमिटर पुनःनिर्माणको चरणमा रहेको उनले बताए।

नेपालथोकबाहेक यो खण्डमा छ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण रुपमा क्षति गरेको छ। नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ। सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ। रोशीगाउँपालिकाको कालढुङ्गा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण रूपमा क्षति भएको छ।

थली बेसीमा पनि रोशीखोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ। रोशी खोलामा बाढी घटेकाले खोलालाई डाइभर्सन गरेर अस्थायी सडक निर्माण गर्न स्थानीयले सुझाएका थिए।

वि.सं. २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिकमार्गका रूपमा विकास गरेको थियो।

राजमार्ग पूर्ण रुपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ। यद्यपि दसैँअघि नै राजमार्ग पूर्ण रुपमा सञ्चालनमा ल्याउने प्रयासस्वरुप जिल्लाका जनप्रतिनिधिसहित सरोकारवाला सबैपक्ष जुटेका छन्। राधिका बुढाथोकी/रासस

प्रकाशित: १६ आश्विन २०८१ ०८:०५ बुधबार

#BP Highway