समाज

बाढी पछिको नारायणी किनार (तस्बिरहरू)

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो। भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो। सोही अनुसार महानगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणमा समेत ठुलो रकम खर्च गरिरहेको छ।

तर, पछिल्लो समय नारायणी किनारको सौन्दर्य भने गुम्दै गएको छ। नारायणी किनारमा शनिबार आएको बाढीले त्यहाँ निर्माण गरिएका संरचना बगाएर ठुलठुला खाडल बनाउँदै लगेपछि यहाँको सौन्दर्य बिग्रँदै गएको हो।

यस नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने उद्देश्यले नारायणी नदीको पुलबाट उत्तर तर्फ ६ सय ४० मिटर लामो समुन्द्री तट प्रकारको तटवन्धन निर्माण कार्य गरिएको थियो। साथै ठाउँ ठाउँमा चाइनिज दुवो, बिरुवा तथा विभिन्न मुर्तिहरु निर्माण गरिएको थियो।

त्यसैगरी नारायणी किनारको माथिल्लो भागमा मोज्याक टाइलसमेत लगाइएको थियो। तर, यसपटक आएको बाढीले नारायणी नदी किनारको दुवो सहित त्यहाँको माटो र बिरुवाहरू बगाएर लगेको छ। माथिल्लो भागमा रहेको मोज्याक टाइलको समेत नाम निसाना छैन। अधिकांश ठाउँमा बाढीले ठुल्ठुला खाडल समेत बनाएको छ।

नदीले ‘सीबीच मोडल’को तटबन्धमा भने क्षति पु¥याएको छैन। तर, त्यसका कारण मेला महोत्सव तथा मनिङवाक गर्ने स्थानमा क्षति पुग्न गएको भरतपुर महानगरपालिका वडा नम्बर २ का लिलामणी शर्मा खनाल बताउँछन्। ‘नारायणी नदी किनारमा विकास रामै भएको थियो। सी बिच मोडलले गर्दा बिचको भाग खाल्टो पारेर लग्यो,’ उनले भने ‘यहाँको सौन्दर्य हराइरहेको छ।’ पछिल्लो समय पर्यटकीय गतिविधिमा लगानी बढ्दै गए पनि सही रुपमा प्रयोग हुन नसकेको उनले बताए।

१६ करोड रुपियाँको लागतमा नारायणी किनारको चौरलाई कायम राखी नदी कटान रोक्न समुन्द्री किनारको आकारमा तटबन्ध निर्माण गरिएको थियो । अझै यहाँ आरती स्थल निर्माणको तयारी थालिएको छ। साथै ठाउँ ठाउँमा दुवो, बगैँचा निर्माण, खेलमैदान निर्माण गर्ने योजना बनाइएको छ।

तर, नदी बग्ने स्थानमा धेरै लगानी गर्न नहुने गैँडाकोटका धीरमणी पौडेल बताउँछन्।  ‘पारीबाट यहाँका रमणीय दृश्य हेर्न आउने गर्दथे। अहिले त्यो रमणीय दृश्य उजाड बनेको छ,’ उनले भने ‘पहिला र अहिलेको दृश्य हेर्दा मरुभूमि जस्तो भएको छ।’ यहाँ बाढी आउनु अगाडि यहाँ विभिन्न मूर्ति थिए। बिरुवा र दुवोले सुन्दर देखिएको थियो । नारायणीले सबै बगाएर लगेको छ।

नदी किनारमा शीतल हावा लिनका लागि टहलिनेहरूको साँझपख निकै भिड लाग्छ। मकै पोल्ने, चटपट, पानी पुरी र म.म. चाउमिन जस्ता फाष्टफुड बेच्नेहरूका ठेलाहरू लहरै हुन्छन्। अहिले ती ठेलाहरू राख्ने ठाउँसमेत छैन। नदी किनारमा अग्लो बुद्ध प्रतिमा छ। लगभग डेढ किलो मिटरमा लहरै सोलार बत्ती जडान गरिएको छ। हिँड्नका लागि मोजाइक टायल बिछ्याएको छ । तर, यो पनि बाढीले अधिकांश भागमा क्षति पु¥याएको छ।

सिबिच मोडलमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्य सहित महानगरले यहाँ करोडौँ लगानी गरेको थियो । अहिले बाढीले भत्काएपछि सामाजिक सञ्चालनबाट समेत महानगरको विरोध हुन थालेको छ । उनीहरुले महानगरले सही ठाउँमा लगानी नगरेका भन्दै टिप्पणी गरेका छन्।

नदी किनारलाई हरियाली तथा धुलोरहित बनाउन पन्ध्र सय स्क्वायर फिटमा दुवो लगाइएको थियो। सो दुबो अहिले नारायणी नदी किनारमा देख्न पाइँदैन। तर, अहिलेको बाढीले ‘सीबीच मोडल’लाई केही असर नगरको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामा बताउँछन् । ‘नारायणी नदीमा बाढीले त्यस्तो क्षति पुराएको छैन’, उनले भने ’नारायणी नदीमा रोपिएको दुवो आदिवासी जनजाति महासंघले रोपेको थियो । महानगरले रोपेको होइन।’ 

प्रकाशित: १४ आश्विन २०८१ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App