समाज

एसिया सेभेन्स रग्बीका लागि नेपाली टोली घोषणा

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ खेल्ने महिला र पुरुष नेपाली राष्ट्रिय रग्बी टोलीको आइतबार घोषणा भएको छ।

नेपाल रग्बी संघले आइतबार विज्ञप्तीमार्फत महिला र पुरुषमा समान १२ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। दुवैतर्फ चार वैकल्पिकसहित कुल १६ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरिएको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए।

पोखरामा पछिल्ला तीन महिनादेखि भएको बन्द प्रशिक्षणबाट नेपाली टोली घोषणा गरिएको हो। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुँदै छ। यो प्रतिस्पर्धा एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोट माध्यम पनि हो।

नेपाली राष्ट्रिय महिला रग्बी टोलीमा सिर्जना राई, आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाका मार्किन राई, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनीषा थापामगर र कमला राई छन्। सिर्जना पूर्वउपकप्तान हुन्।

चार वैकल्पिक खेलाडीमा संगीता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई समावेश गरिएको छ।

नेपाली राष्ट्रिय पुरुष टोलीमा विक्रम पुरी, विराट श्रेष्ठ, विवेश बासु, सबिन महत, क्याल्भिन जोशी, यदु अधिकारी, निरोज कार्की, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी समेटिएका छन्।

विराट र विक्रम यो टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। चार वैकल्पिक खेलाडीको सूचीमा विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी छन्।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछिन्। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछन्।

नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो। यसअघि एसिया यु–१८ र यु–२० एसिया रग्बी सेभेन्सका प्रतिस्पर्धा आयोजना भएको थियो।

प्रकाशित: १३ आश्विन २०८१ २२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App