समाज

घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव

५६ वर्षपछि सप्तकोशी नदीमा उच्च तहमा पुगेको पानीको बहाव विस्तारै घट्न थालेको छ।

शनिवार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव आज बिहान ६ लाख ६१ हजार पाँच क्यूसेक पुगेकोमा विस्तारै घट्न थालेको हो।

केही बेर अघिको मापन अनुसार सप्तकोशीको पानीको बहाव घटेर ५ लाख ८२ हजार क्यूसेकमा झरेको छ।

कोशी व्यारेजको ९ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। कोशी ब्यारेजमा ५६ वटै ढोका खुल्ला गरिएको छ। उच्च खतराको संकेत रातो झण्डा फहराउने काम जारी छ।

कोशी ब्यारेजमा सामान्यतय पानीको वहाव १ लाख ५० हजार काट्ने वितिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ। एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिम तर्फ र दुई लाख काटनेवितिकै पूर्व तर्फ बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। पानीको बहाव खतराको तह पार गरेपछि झण्डा पनि फहराइएको हो।

पानीको बहाव निरन्तर बढेकाले गर्दा जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुल भएर आउँजाउँ गर्न रोक लगाएकोमा अब सुचारु गर्ने तयारी भइरहेको जानकारी दिइयो। सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार सप्तकोसी नदीले फोहोर पुलमाथि थुपारि दिएकाले गर्दा त्यसलाई हटाएर यातायात सुचारु गर्ने तयारी भइरहेको हो।

सन् २०११ साल वैशाख १५ गते नेपाल र भारत बिच कोशी योजना सम्बन्धी सम्झौता सम्झौता पश्चात कोशी ब्यारेज बनेको थियो। २०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

यसैबीच, सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झण्डै तीन किलोमिटर पश्चिमको श्रीलंका टापुमा फसेका २१ जनालाई उद्दार गर्न सुरक्षाकर्मीको टोली खटिएको छ।

नदीको बीचमा बस्ती भएकाले गर्दा शुक्रबार रातिदेखि नै फसेकालाई उद्दार गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखले हेलिकप्टरबाट उद्दार गर्ने योजना बनाएपनि शनिबार सम्भव भएको थिएन। मौसमक अनुकुल नभएर हेलिकप्टर नआउँदा उद्दार हुन नसकेका उनीहरुलाई मौसम सुधार भएसँगै सुरक्षाकर्मीले उद्दार गर्न टोली परिचालन गरिएको एसपी रेग्मीले बताए। 

प्रकाशित: १३ आश्विन २०८१ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App