समाज

सम्पन्न भयो लाखे जात्रा

यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ। गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रम गरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो। नेपाल भाषा तथा सांस्कृतिक समाजको नेतृत्वमा विगत लामो समयदेखि सदरमुकाम फुङ्लिङमा नाच प्रदर्शन गर्दै आएको छ। मङ्गलबार दिनभर लाखे र कृष्णको लडाईंको खेल देखाएर राति १० बजे कृष्णले लाखेलाई मारेको खेल देखाएपछि जात्रा सम्पन्न भएको समाजका अध्यक्ष शङ्खर श्रेष्ठले बताए।

भीमसेन मन्दिरमा विधिवत् पूजागरी लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीकोसमेत पूजागरी जात्रा सुरु गरिएको थियो । द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनको मामा कंशबीचको लडाईंको झल्को दिनेगरी विभिन्न गतिविधि गर्दै नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे जात्रा प्रदर्शन गरिएको थियो। समाजका अनुसार लाखे जात्रा नेपालको सांस्कृतिक वैभवको महत्वपूर्ण अंश हो। विशेषगरी नेवार समुदायको परम्परागत संस्कार र संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको यो पर्व ताप्लेजुङलगायत नेवार समुदाय भएको जिल्लामा मनाइन्छ। 

यो जात्रामा लाखे नाच मुख्य आकर्षण हुन्छ, जसमा डरलाग्दो मुखुण्डो लगाएर नाच्ने पात्र (लाखे) लाई दुष्ट आत्माहरूको प्रतीकका रूपमा चित्रण गरिन्छ। लाखे जात्रा जनैपूर्णिमा, गाईजात्रा, र इन्द्रजात्राका अवसरमा विशेष उत्साहका साथ मनाइने परम्परा हो।

जात्राको पृष्ठभूमि

गणेशराम लाछीको एक अनुसन्धन लेखअनुसार लाखे जात्राको उत्पत्ति र यसको इतिहासबारे विभिन्न किंवदन्ती प्रचलित छन्। तीमध्ये एक लोकप्रिय कथाअनुसार काठमाडौँ उपत्यकामा कुनै समय एक विशाल राक्षस ९लाखे० आतङ्क मच्चाउँदै हिँड्थ्यो । स्थानीयलाई डर देखाउन र दुःख दिन आएको यो राक्षसलाई देवताहरूले हराएपछि लाखेको स्वरूपलाई मुखुण्डोमा कैदगरी त्यसलाई सांस्कृतिक पर्वका रूपमा प्रस्तुत गर्न थालियो। लाखे नाचका माध्यमबाट दुष्ट प्रवृत्तिलाई परास्त गर्ने सन्देश जनमानसमा प्रवाहित गर्न खोजिएको हो।

यो जात्रा मुख्य रूपमा नेवार समुदायसँग सम्बन्धित भए पनि यसको सांस्कृतिक महत्व सम्पूर्ण नेपाली समाजका लागि महत्वपूर्ण छ। नेवार समुदायले लाखे जात्रालाई आस्थाका पर्वका रूपमा मनाउँछन्। जसमा स्थानीय देवी–देवताहरूको सम्मान, सांस्कृतिक विरासतको जगेर्ना, र समुदायबीच एकताको भावना प्रबल हुन्छ।

लाखे नाचको विशेषता

लाखे नाच लाखे जात्राको प्रमुख आकर्षण हो। यो नाचमा सहभागी पात्रले राक्षसको रूप धारण गर्छन्। जसका लागि ठूलो र डरलाग्दो मुखुण्डो, रातो वा कालो रङको विशेष पोशाक, र विशाल आकारका माला तथा अन्य आभूषण प्रयोग गरिन्छ। लाखेले गरेको आक्रामक नाचका माध्यमबाट दुष्ट शक्तिहरूलाई परास्त गरिन्छ भन्ने मान्यता छ।

लाखे नाचको विशेषता भनेको यसको भव्य र अद्वितीय प्रस्तुति हो। लाखे पात्रले गाउँको भित्रिभागसम्म हिँड्दै मानिससँग आन्तरिक संवाद गर्दै डर र उत्सुकता उत्पन्न गराउँछ। लाखेको नृत्य शैली आक्रामक, उत्तेजित र निकै गतिशील हुन्छ, जसले जात्रामा एक अलग र रहस्यमय माहौल सिर्जना गर्छ।

सांस्कृतिक महत्व

लाखे जात्रा केबल धार्मिक पक्षमा मात्र सीमित छैन। यसले समाजलाई एकता र सद्भावको सन्देश दिन्छ। लाखे जात्रामा विशेषगरी नेवार समुदायका मानिसको ठूलो सहभागिता हुने भए पनि यसमा अन्य समुदायका मानिसको पनि उत्तिकै चासो र भागेदारी हुन्छ। यसले विभिन्न जातजातिहरूबीचको आपसी समन्वय र एकअर्काको संस्कृतिप्रतिको सम्मानलाई प्रोत्साहित गर्दछ।

लाखे नाचले धर्म, कला, र संस्कृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ। लाखे नाचको एक अर्को महत्वपूर्ण पक्ष भनेको यो संस्कारले प्राचीन नेपाली समाजको जीवनशैली र रीतिरिवाजलाई जगेर्ना गर्नु हो। लाखे नाचको समय मानिसहरू देवीदेवताहरूलाई पूजा गर्दै लाखे नाच्ने पात्रलाई वरिपरि घेरेर मौनता र भक्ति भावमा सहभागी हुन्छन्।

आधुनिक समयको चुनौती

लाखे जात्राको महत्त्व आधुनिक समाजमा घट्दै गएको देख्न सकिन्छ। बढ्दो सहरीकरण, पश्चिमा संस्कृतिको प्रभाव र आधुनिक मनोरञ्जनका साधनका कारण गर्दा पुराना परम्परागत पर्वहरूमा युवापुस्ताको चासो कम हुँदै गएको छ। सहरीकरणले गर्दा लाखे जात्रालाई पूर्ण रूपमा व्यवस्थित गर्न चुनौती थपिँदै गएको छ।

तथापि, लाखे जात्रा र लाखे नाचको संरक्षणका लागि विभिन्न संस्थाहरू, विशेषगरी नेवार समुदायका जातीय संस्थाहरूले ठोस पहल गरिरहेका छन्। यो जात्रालाई राष्ट्रिय रूपमा चिनाउन र यसले बोकेको सांस्कृतिक सम्पदालाई जगेर्ना गर्नका लागि स्थानीय समुदाय र सरकारबीचको सहकार्य आवश्यक छ।

लाखे जात्रा नेपालका परम्परागत पर्वहरूमध्ये एक हो, जसले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई सशक्त बनाएको छ। यस पर्वको माध्यमबाट नेपाली समाजले पुरानो संस्कारको जगेर्ना मात्र गर्दैन, सांस्कृतिक पुनःजागरणको अभियानलाई पनि अघि बढाउँछ।-रासस

प्रकाशित: १२ भाद्र २०८१ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App