जुम्लामा मंगलबारदेखि कर्णाली प्रदेशकै ठुलो र लामो जात्रा सुरु भएको छ।गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन सकिन्छ। वि.सं. १९५३ मा कृष्णवीर श्रेष्ठको पालादेखि पल्टन जात्रा मनाउन थालिएको स्थानीय चित्रलाल श्रेष्ठ बताउँछन्।जात्राको पहिलो दिन गाईजात्रा निकालिन्छ।
दिवङ्गत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्म शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउन थालिएको स्थानीय जानकारी चित्रलाल श्रेष्ठले जानकारी दिए ।‘जात्रा ८ दिनसम्म चल्छ।’ उनले भने।पहिलो दिन एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरूको सम्झना र प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै खलंगाबजार परिक्रममा गर्ने चलन छ।
बजार परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल, दही, चिउरा दान गर्ने चलन छ।लिच्छवि कालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए। त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको किंवदन्ती छ।जात्राको समयमा भिडभाड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
यो जात्रा कर्णाली प्रदेशकै लामो जात्रा भएकोले निकै ठुलो महत्त्व रहेको स्थानीयहरू बताउँछन्। जात्रामा आफन्तहरूबिच एक आपसमा भेटघाट हुने भएकोले फलफूल र मिष्टान्न भोजन खाने चलन छ।
जात्रा पहिलो दिन गाईजात्रा, दोश्रो दिन रोपाइँ जात्रा निकालिएकोमा तेस्रो दिन सानो पल्टन मिम बादशाह जात्रा र ठुलो पल्टन तथा बाघ भालु जात्रा देखाइने चलन छ। जात्रामा हुड्के नाचदेखि मिमबास्सा र पल्टन जात्रासम्म एकसाथ प्रदर्शन गरिएको थियो ।जात्रामा कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्ज, काठमाडौंबाट हेर्न आउने गरेका छन्।
यो जात्रालाई कर्णालीको धार्मिक पर्यटनका रुपमा हेरिएको छ।राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रको विकृतिको पर्दाफास गर्दै सभ्य समाज निर्माणको लागि सन्देश प्रवाह गर्न हरेक वर्ष पल्टन जात्रा निकाल्ने गरिएको जात्रा समितिका आनन्द अधिकारीले जानकारी दिए । पल्टन जात्राको दिन स्थानीय पञ्चेबाजा जोगाउनका लागि पञ्चेबाजा नाच निकालिन्छ । पञ्चेबाजामा दलितहरूसँगै गैर दलितहरू पनि सामेल हुन्छन् । त्यसरी बाजागाजासहित बजार परिक्रमा गर्ने गरिएको छ ।
यस पटक दलित र गैर दलितहरू मिलेर हुड्के नाच देखाए । पञ्चेबाजा बजाउँदै सरकारी उच्च अधिकारी, व्यापारी व्यवसायीहरूबाट रुपैयाँ माग्ने चलन छ । उनीहरुले गच्छे अनुसारको पाँच सयदेखि माथि रकम दिने गरिएको छ । पल्टन जात्रामा सैनिकहरूको अद्यावधिक रही रहोस् भन्ने कामना समेत गरिन्छ ।जात्रामा जात्रा समितिमा आबद्ध कलाकारहरूले नेपाली सेना र नेपाल प्रहरीको पोसाक लगाएर नाच्ने गर्दछन् । पल्टन जात्रालाई सैन्य क्षेत्रमा रहेकाहरूलाई हौसला प्रदान गर्नको लागि मनाइने जात्राको रुपमा हेर्ने गरिन्छ । पल्टन जात्रा हेर्न ग्रामीण क्षेत्रबाट मानिसहरू बजार आइपुगेका छन् । जात्राका कारण होटल व्यवसाय बढेको स्थानीयले बताए ।
प्रकाशित: ६ भाद्र २०८१ २१:१६ बिहीबार