उदयपुरमा बुधबार भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
चोदण्डीगढी नगरपालिका-३ हात्तीसारमा को २ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक तिलक राईको घटनास्थलमै निधन भएको हो। उनका उमेर र ठेगाना भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार, सुनसरीको इटहरीबाट सामान बोकेर बेलका नगरपालिका-२ भागलपुरतर्फ जाँदै गरेको उक्त ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनामा २२ वर्षीय सञ्जय ऋषिदेव र २२ वर्षीय प्रल्हाद ऋषिदेव घाइते भएका छन्। उनीहरुको उद्धार गरी उपचारार्थ बेलटारस्थित चौदण्डीगढी नगर अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय रामपुरले घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि नगर अस्पतालमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८१ १९:५३ बुधबार