समाज

हावाहुरीले विद्यालय भवन भत्कायो, पठनपाठनमा समस्या

हावाहुरीले भत्काएको सुनकोसी गाँउपालिका ७ स्थित जखनी प्रा.वि ।तस्बिर  : अनिल भण्डारी

सिन्धुली – सामान्य वर्षासँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। गत चैत १६ गते राती आएको आँधी भवनको छाना मात्रै नभएर गाह्रो समेत लडाएको विद्यालयले जनाएको छ। 

सुनकोसी गाँउपालिका ७ स्थित जखनी प्रा.वि रुपाकोटको भवन पूर्ण रुपले क्षति भएको हो। हावाहुरीले विद्यालय भवन पूर्ण ध्वस्त भएको छ, विद्यालयका प्रध्यानाध्यापक लोकबहादुर कार्कीले भने–‘ढुङ्गा माटोको गाह्रो र जस्ताको छानो थियो सबै ध्वस्त भएको छ। विद्यालय भवन ध्वस्त भएपछि पठनपाठनमा समेत असर पुगेको उनले जनाए। 

सल्लाको काठले बनेको भवन थियो, पुरानै भवन भएकाले पनि हावाहुरीले बढी नै क्षति पुर्‍याएको हो, उनले भने–‘ अरु विकल्प नभएसम्मका लागि पठनपाठनमा असर नै पुग्ने भएको छ । विद्यालय भवन हावाहुरीले भत्किएपछि शनिबार दिनभरी काठपात पन्छाउने काम भएको कार्कीले जनाए। हामीकहाँ अर्को भवन निर्माण हुँदै छ, त्यो बन्न अझै केही समय लाग्छ पुरानो भवन हावाहुरीले भत्काइदियो, उनले भने। 

हावाहुरीले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । विद्यालय भवन तथा निजी आवासमा समेत क्षति पुर्‍याएको स्थानीयले जनाएका छन् । सामान्य वर्षा सँगै ठूलो हावाहुरी चल्दा जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको स्थानीयले जनाएका छन् । तर यकीन विवरण भने आएको छैन । 

 

प्रकाशित: १८ चैत्र २०७४ १०:१० आइतबार

हावाहुरीले विद्यालय भवन भत्कायो पठनपाठनमा समस्या