समाज

बर्सेनि विपद्को त्रास-कसबाट जोगिने आश !

यस वर्षको मनसुन सुरु भएयता काभ्रेपलाञ्चोकमा तीन बालबालिकासहित छजनाको बाढीले बगाएर मृत्यु भइसक्यो। गत असार २३ गते खोला तर्ने क्रममा बगाउँदा रोशी गाउँपालिका–१ का ४५ वर्षको कमल विकको मृत्यु भयो। अघिल्लो दिन साँझ परिवारसहित भुग्देउ खोला तर्ने क्रममा बगाएको र खोजी गर्दा असार २४ गते बिहान उनको शव दुई किलोमिटर तल फेला परेको थियो।

यसअघि असार २१ गते शुक्रबार साँझ ७ बजे रोशी–११ स्थित भ्याकुरे खोला तर्ने क्रममा ६५ वर्षीया जालमाया रुजाल मगर र उनकै भदैनी बहिनी पाँच वर्षीया सेतिमाया रुजाल मगरको मृत्यु भएको थियो। प्रहरीका अनुसार खोला तर्ने क्रममा दुवैलाई बगाएको र तल्काल खोजतलास गर्ने क्रममा करिब नौ सय मिटर तल उनीहरुको शव फेला परेको थियो।

यस्तै, यही साउन १२ गते रोशी खोलाले बगाउँदा रोशी गाउँपालिका–९ चिउरीबासका ४५ वर्षीया आरती लामाको मृत्यु भयो। शनिबार दिउँसो नुहाउन घरबाट निस्केकी आरतीलाई रोशी खोलाले बगाउँदा साँझको समयमा तेमाल गाउँपालिका–८ पानथलीस्थित रोशी खोलाको बगरमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला परेको जनायो।

यसैबीच, मङ्गलबार मात्रै धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासका मृत्यु भयो। प्रहरीका अनुसार उनलाई श्रीखण्डपुरस्थित ढलबाट बगाउँदा करिब तीन सय मिटर तल बिहान मृत अवस्थामा फेला पारिएको थियो।

मनसुन सक्रिय भइरहँदा विपद्को उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकका हजारौँ नागरिकमा त्रासदीपूर्ण मानसिकता घटेको छैन। विशेषगरी पहाडी भू–भाग रहेको काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अझ बढी नै छ। यहाँको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्मा पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै आएको छ। 

जिल्लामा हुनसक्ने बाढी–पहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट साढे पाँच हजार घरपरिवार प्रभावित हुनेसक्ने अनुमान गरिएको जनाएको हो। काभे्रपलाञ्चोक बाढी–पहिरो, डुबान, चट्याङ र हावाहुरीको उच्च जोखिम जिल्लामा पर्दछ।

समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंका अनुसार जिल्लामा मनसुनजन्य विपद्का विभिन्न घटनाबाट जिल्लाका पाँच हजार पाँच सय ९९ घरपरिवारका २६ हजार एक सय ७९ नागरिक प्रभावित हुनेसक्ने अनुमान गरिएको छ। पहाडी भू–भाग भएकाले बाढी–पहिरो तथा दुई ठूला नदी सुनकोशी र इन्द्रावती तथा स–सना नदी एवं खहरे खोलाहरुको कारण मनसुनजन्य विपद्ले हरेक वर्ष यो जिल्ला प्रभावित हुने गरेको छ।

सोही अनुसार स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायसँगको सहकार्यमा पूर्वतयारी तथा प्रतिकार्यमा खट्न व्यवस्थापनमा लागिएको सेढाईं बताउँछन्। उनी भन्छन्, ‘विपद्जन्य घटनाबाट घरपरिवार तथा बस्ती स्थानान्तरण गर्नुपर्नेसम्म हुनसक्छ, त्यसका लागि हाम्रो साधन–स्रोतले भ्याएसम्म पूर्वतयारीमा जुटिरहेका छौँ।’ गत असारमा एक हप्ताको समयमा जिल्लामा बाढीका कारण तीन बालबालिकासहित पाँच मृत्यु भएको थियो।

समितिले घटनामा राहत तथा पुनःस्थापनाका लागि विपद् कोष परिचालन गर्ने, राहत तथा उद्धारका लागि आवश्यक सामग्रीका लागि जिल्ला आपत्कालीन सञ्चालन केन्द्र र समितिसँग समन्वय गरी सामग्री खरिद गरी तयारी अवस्थामा राख्न तथा स्थानीय तहलाई स्थानीयस्तरमा खुल्ला क्षेत्र र ठूलो भवन व्यवस्थापन गर्न समन्वय गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको थियो। सोही अनुसार स्थानीय तहले आ–आफ्ना क्षेत्रमा व्यवस्थापन गरिरहेको जानकारी आएको प्रजिअ सेढाईंले बताए।

समितिले मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कट अवस्थामा रहेका समुदाय एवं बस्तीहरुको पहिचान तथा र जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने, विपद् प्रतिकार्यका लागि अवश्यक पर्ने सामग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकल अन्तरस्थानीय तह समन्वय गरी परिचालन गर्ने लगायतको निर्णय गरेको छ।

यसैबीच, विपद्जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् पूर्व तयारीस्वरुप पाँचखालमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद् प्रतिकार्यका लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेस’ बेस राखेको छ। धुलिखेल र आइटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्धलगायत आसपासका स्थानीय तहमा हुने मनसुन–विपद्मा उद्धार गर्नेछ।

उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षककको नेतृत्वमा २५/२५ सशस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको हो। गृहमन्त्रालयको निर्णयअनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दाको अवस्थामा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी दुई स्थानमा अस्थायी बेस राखिएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनायो।

यस्तै, मनसुनका बेला काभ्रेपलाञ्चोकमा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् प्रतिकार्यको तयारीसमेत गरेका छन्। तीन दिन तालिम दिएर रोशी गाउँपालिकाले विपद् प्रतिकार्य गर्न गत असारमा ५२ जना जनशक्ति तयार गरेको छ। रोशीका सबै वडा, रेडक्रसकर्मी, कर्मचारीसमेत गरी ५२ लाई तालिम दिएर विपद् प्रतिकार्यका लागि जनशक्ति तयार गरेको गाउँपालिकाले जनाएको हो।

सेनाका अधिकारीद्वारा प्रदान गरिएको उक्त तालिमका जनशक्तिले गाउँपालिका र आसपासका क्षेत्रमा हुनसक्ने विपद्का घटनामा परिचालित हुने अध्यक्ष दिनेश लामा बताउँछन्। ‘विपद् व्यवस्थापनको काम सुरक्षा निकायको मात्र जिम्मेवारी नभई समुदायको पनि रहेकाले विपद्मा सहभागिता जनाउन तालिम सञ्चालन गरेका हौँ, तालिममा विपद्मा ‘फस्ट रेष्पोन्डर’ मानिएको समुदायलाई विपद्पूर्व, विपद् र विपद्पश्चात् खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षित गरिएको थियो’, उनी भन्छन्।

यस्तै, जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले सामुदायिक विपद् प्रतिकार्यका लागि काभ्रेपलाञ्चोकको १० स्थानीय तहमा ८० सामुदायिक विपद् प्रतिकार्य तालिम दिई विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ। तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री, सीप तथा कला, बाढी–पहिरो, डुबान, आगलागीजस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए।

काभ्रेपलाञ्चोकका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिदै आइएको छ। विपद्का घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कैयौँ मानिसको ज्यान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्न सक्ने क्षमताको विकास गर्न तालिम दिइएको सिंहले बताए। 

विपद्का क्रममा उद्धारकर्मीको उपस्थिति बिना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ का रुपमा स्थानीय तहका युवालाई क्षमताको विकास गरिएको हो। यस्तै, प्राथमिक उपचार तथा मेडिकलसम्बन्धी प्रशिक्षण र अभ्यास तथा शिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’समेत गरिएको थियो।

यसअघि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरीद्वारा सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास गरेका थिए। संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुबेको, पहिरो तथा बाढीमै फसेका व्यक्तिहरुलाई उद्धार गरिएको थियो। 

साथै, प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो। गणले गत जेठमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमास्थल भएर बग्ने इन्द्रावती नदी ‘मनसुन–४’ नामक विपद् प्रतिकार्य अभ्यास गरेको थियो। गणले गत साल पनि ‘मनसुन–३’ नामाकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको थियो।  

विपद्को समयमा तत्काल सेवा दिन सक्ने गरी स्वास्थ्य संस्था, औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न, विकास आयोजना सञ्चालन गर्दा र निर्माण सामग्री उत्पादन गर्दा विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मापदण्डको पूर्णपालना गर्न समेत आग्रह गरिएको समिति संयोजक एवं प्रजिअ सेढाईं बताउँछन्। 

उनका अनुसार यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१ तर्जुमाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार जिल्लाका स्थानीय तहसँग मागिएको मनसुनजन्य विपद्को प्रकृतिगत रुपमा सम्भावित स्थान र जोखिमको पूर्वानुमान विवरण आएका छन् भने सोहीअनुसार पूर्वतयारी गर्न स्थानीय तहलगायत सरोकारवाला निकायलाई भनिएको छ।

यस्तै, स्थानीय तह, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल तथा सञ्चारकर्मी, सङ्घसंस्था तथा युवाको समेत विपद् न्यूनीकरणमा सक्रियता हुने गरी योजना निर्माण तथा आवश्यक तयारी गर्न निर्देशन दिँदै आएको समितिले जनाएको छ। आफ्नो क्षेत्रको भौगोलिक बनावट र प्रत्येक वर्ष मनसुनको समयमा उत्पन्न हुने बाढी, पहिरो तथा डुबानको दौरान प्रभावित सर्वसाधारण नागरिकलाई विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने सबै तहका निकायले समन्वयात्मक रुपमा विपद्को तयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी ढङ्गले परिचालन हुने कार्यलाई निरन्तरता दिइने भएको हो।

यसैगरी, समितिले सरोकारवाला निकायको जिम्मेवारी अनुसारको समन्वय बैठक सञ्चालन गर्ने, जिल्ला, स्थानीय तहको सम्पर्क व्यक्ति र जिम्मेवारी अद्यावधिक गर्ने, तालिम सञ्चालन गर्ने, विवरण सङ्कलन गर्नेलगायतका योजना निर्माण गरी कार्यान्वयन सुरु गरेको जनाएको छ। बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विपद्का क्षेत्रमा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने आवश्यक दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। 

आर्थिक वर्ष २०८०/८१ मा तीन सय ६९ विपद्जन्य घटना भएका थिए। ती घटनामा १७ नागरिकको मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बाढीले बगाएर १३, आगलागीबाट दुईको मृत्यु, आठ घाइते र करेन्ट लागी दुईजनाको मृत्यु भएको हो।

त्यस आवमा जिल्लामा आगलागीका दुई सय ३५, पहिरोको ८४, जनावर आक्रमणको १८, चट्याङको दुई, १४ करेन्टको, अविरल वर्षाको दुई, बाढीको एक, बाढी–पहिरोको १२ घटना भएका थिए। जिल्लामा विपद्जन्य घटनामा छ सय ६२ परिवार प्रभावित बन्यो। सम्पूर्ण घटनामा एक हजार छ सय ४३ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

त्यस्तै, आव २०७९/८० मा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका थिए। यसमध्ये ५९ को मृत्यु भएको थियो भने तीन सय ७७ घाइते तथा ३३ को सुरक्षाकर्मीले उद्धार गरेको जनाइएको छ। यस्तै, आव २०७८/७९ मा चार सय ४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, तीन सय ५० घाइते तथा २८ को उद्धार गरिएको थियो। -रासस

प्रकाशित: २८ श्रावण २०८१ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App