समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा आइतबार मोरङको सुन्दरहरैँचाबाट श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। 

सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल (नेपाल)को हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको बताए। 

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘उपचारका क्रममा १२ बजेतिर चिकित्सकले मृत घोषित गरी दिए । लक्ष्मणले श्रीमतीलाई जथाभाबी खुकुरी प्रहार गर्दा टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको देखिन्छ । अंश विवादका कारण पवित्राको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

यसअघि अदालतमा एक अर्का विरुद्ध मुद्दासमेत हालेका थिए । दुवै जना मिलेर बस्ने गरी मिलापत्र गरेपछि पवित्रा माइती मोरङको लेटाङमा बस्दै आएकी थिइन् । श्रीमानले १६ धुर जग्गा किनेर श्रीमतीको नाममा पास गरिदिएका थिए । दुई जनाबिच झगडा भएपछि पवित्रा वैशाखदेखि माइतमै बस्न थालेको प्रहरीले जनाएको छ ।  

त्यसपछि लक्ष्मणले अदालतमा जग्गा रोक्का मुद्दा दायर गरेपछि पवित्राले पनि सम्बन्ध विच्छेद, घरेलु हिंसा र मानो चामल दर्ता गरेको पाइएको छ । अदालतले दुवै जनालाई छलफलमा बोलाएर मुद्दामा मिलापत्र गराएको खुलेको छ ।  

जग्गा संयुक्त नाममा हुने र आगामी दिनमा मिलेर बस्ने गरी साउन १० गते अदालतमा मिलापत्र भएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘मिलापत्रपछि दुवैले मुद्दा फिर्ता लिए पनि पवित्रा माइतीमै बस्न थालेका कारण सम्बन्ध झन् बिग्रिएको रहेछ । माइतीबाट पवित्रालाई अब मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर हत्या गरेको पाइएको छ ।’ उनका अनुसार बिहान खाना खाने समयमा विवाद झिकेर लक्ष्मणले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पवित्रा लक्ष्मणकी कान्छी श्रीमती हुन्।जेठी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो बिहे गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको खुकुरीसहित लक्ष्मणलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाको थप अनुसन्धान प्रहरीले अघि बढाएको छ । पक्राउ परेका लक्ष्मणविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने डिएसपी बस्नेतले बताए। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २७ श्रावण २०८१ १८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App