समाज

स्थानीय अंश समावेश गरी पाठ्यक्रम

रोल्पा-  रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय अंशसमेत समावेश गरी पाठ्यक्रम तयार गरी लागू गर्ने भएको छ।

नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप र कृषिजस्ता पक्षलाई समेटेर पाठ्यक्रम तयार गर्न लागिएको नगर शिक्षा समितिले जनाएको छ।

नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन स्थानीय विषयवस्तु समावेश गरी पाठ्यक्रम तयार गर्न लागेको नगर प्रमुख पूर्ण केसीले जानकारी दिए। शैक्षिक सत्र २०७५ देखि लागू हुने गरी हरेक विद्यालयले १०० पूर्णांक स्थानीय अंश समेटेर पाठ्यक्रम तयार गरी लागू गर्ने केसीले बताए।

स्थानीय अंशको रुपमा समावेश गरिने विषयवस्तु समयसापेक्ष भएकाले पाठ्यक्रममार्फत कार्यान्वयन गर्नसके नगर क्षेत्रभित्रको शिक्षा व्यावहारिक हुने बालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले प्रतिक्रिया दिए।

नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने लक्ष्य लिएको रोल्पा नगरपालिकाले शिक्षाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । नगर क्षेत्रभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडाध्यक्षको भेला गरी नगर क्षेत्रको शैक्षिक प्राथमिकताका विषयमा समेत छलफल गरिसकेको छ।रासस

 

प्रकाशित: १६ चैत्र २०७४ ०६:०२ शुक्रबार

स्थानीय अंश समावेश गरी पाठ्यक्रम