समाज

सिमलताल दुर्घटनाः शव फेला पर्न छोडेपछि रित्तै फर्किंदै आफन्त, खोजी भने जारी

चितवनको सिमलताल दुर्घटनाको १४ दिन बितेको छ। गत असार २८ मा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्य ३ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए। दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। अझै पनि खोजी कार्य जारी छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार १२ जना भारतीय टोली र अन्य आवश्यकता अनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा टोली खोजी कार्यमा जुटिरहेको छ। तर, हालसम्म न त बसको कुनै भाग फेला परेको छ न त बेपत्ता ३४ जना यात्रुको कुनै पत्तो लाग्न सकेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोली खोजी कार्यमा जुटेको पनि साता दिन हुनै लाग्दा पनि बस र अन्य हराइरहेका ३४ जना यात्रुको कुनै पत्ता लाग्न नसकेको बताए।

कतिदिन सम्म खोजी गरिरहने भन्ने विषयमा कुनै निर्णय नभएको भन्दै उनले आज पनि बिहानैदेखि खोजी कार्य जारी रहेको बताए।

‘अब त आफन्तहरूको पनि दुर्घटनामा परेका आफ्ना व्यक्ति जिउँदै होला भन्ने आश मर्न थालेको छ। कतिपय घर फर्किसकेका छन् भने केही अहिले पनि चितवनमै रहेका छन्। कम्तिमा शव भएपनि लिएर जान पाए हुन्थ्यो भन्ने आशमा उनीहरू बसिरहेका छन्।’

प्रजिअ यादवले दुर्घटनामा परेकाहरूका आफन्तहरू घर फर्के पनि सम्पर्कमै रहेको बताए। उनले भने, ‘शव भेटिएला कि भन्ने आशा मात्रै छ आफन्तहरूमा। कम्तिमा शरीर भएपनि घर लिएर जाउ भन्ने आशाका साथ आफन्तहरू घर फर्केका छन्। केहीका आफन्त भने चितवनमै छन्। हामी पनि बस वा यात्रुहरू मध्य कोही भेटिएला की भन्ने आशामै छौं। हेरौँ कति दिनसम्म खोजी जारी रहन्छ।’

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार पछिल्लो शव ५ दिन अघि फेला परेको थियो। त्यसयता कुनै शव फेला परेको छैन। खोजी कार्य आज पनि जारी छ। शव वा बस भेटिहाल्ने हो की भन्ने आशामा खोजी कार्य जारी रहेको उनको भनाइ छ।

प्रकाशित: १० श्रावण २०८१ ०८:३१ बिहीबार

#accident #simaltal